बैतडीमा समुदायमा कोरोना फैलिएको आशंका
2020/07/29, 4:57
 
corona

बैतडीमा समुदायमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । गत मंसीरमा भारतबाट फर्केका ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको आशंका गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

गत मंसिरमा भारतबाट फर्केका र ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको अशंका गरिएको उनले बताए । ती व्यक्ति आफ्नै आमामाथि बालत्कार गरेको आरोपमा गत असार ३१ गते पक्राउ परेका थिए । प्रहरी हिरासतमै रहेका बेला स्वाब संकलन गरिएकोमा सोमबार ती व्यक्तिमा कोरोना पुष्टी भएको थियो । कोरोना पुष्टि भएका ती व्यक्तिलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।

कुनै ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना पुष्टि भएपछि इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी र ती व्यक्तिका घरका मानिसहरुको स्वाब संकलन गरिने स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । पछिल्लो समयमा भारतबाट फर्केका कतिपय नागरिक क्वारेन्टाइनमा नबसी सिधै घर गएकाले समुदायमा कोरोना संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।

कोरोना संक्रमित ती व्यक्तिलाई सोधपुछ गरेर तिनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने बताइएको छ । बैतडीमा ३ सय ७ जनामा कोरोना पुष्टि भइसकेको छ । लक्षण नदेखिएका २९७ जनालाई १४ दिनको क्वारेन्टाइन बसाइपछि घर पठाइएको छ भने १० जना विभिन्न क्वारेन्टाइन र आइसोलेसनमा बसिरहेका छन् ।