कैलालीमा सडक दुर्घटनाः वर्षेनी सयौं जनाले अकालमा ज्यान गुमाउँदै
2020/07/29, 8:22
 
kailali acident

सोमबार बिहान स्कुटीमा सवार २६ वर्षीय सन्तोषी बोहराको ट्रकको ठक्करबाट मृत्यु भयो । मिर्मिरे लघुवित्त वित्तिय संस्थामा कार्यरत उनलाई कार्यालय नजिक कैलालीको सडकपुर वौनीयामा ट्रकले ठक्कर दिएको थियो । कैलालीमा चालु आर्थिक बर्ष ७७÷७८ को यो दोस्रो सडक दुर्घटना हो ।

हरेक बर्ष वढ्दै गएका सवारी दुर्घटनाले सयौं जनाले ज्यान गुमाईरहेका छन् । जिल्ला ट्राफिक कार्यालय कैलालीका अनुसार आर्थिक बर्ष २०७६÷७७ मा कैलालीमा १ सय ४६ सडक दुर्घटनामा ६९ जनाले गुमाए । आर्थिक बर्ष ७५÷७६ मा ७० जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । कार्यालयका प्रहरी निरिक्षक सरोजकुमार ठकुराठीका अनुसार आर्थिक बर्ष ७६÷७७ २२ ट्रक, १७ बस, १९ जिप कार, १५ ट्याक्टर, १०३ मोटरसाइकल र ३० वटा अन्य सडक दुर्घटनामा २०६ वटा सवारी दुर्घटना भए । सो दुर्घटनामा परी ४९ जना पुरुष, ११ जना महिला, ८ बालक र १ बालिकाले ज्यान गुमाए ।

सरकारले पूर्ण रुपमा गरेको लकडाउनमा सडक दुर्घटना र ज्यान गुमाउने संख्या भने तुलनात्मक रुपमा बढी रह्यो । विश्व महामारीको रुपमा फैलिएको कोरोना १९ का कारण सरकारले चैत्र ११ गते देखि लकडाउन गरेता पनि सो अवधिमा सामान्य अवस्थाभन्दा बढी सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय कैलालीको भनाई छ । यस अवधिमा भएका ४० वटा सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा १६ जना पुरुष, ३ महिला र ३ जना बालक रहेका छन् । “जिल्लामा सवारी चाप बढी रहेको छ,” प्रहरी निरिक्षक ठकुराठीले भने “मानिसहरुमा ट्राफिक नियम सम्बन्धी जनचेतना कमीका कारण सडक दुर्घटना बढी भईरहेको छ ।”

लाईसेन्स विना सवारी चलाउनु, तिव्र गतिमा गाडी चलाउनु, मादक पदार्थ सेवन गरी सवारी चलाउनु सामान्य रुपमा पनि ट्राफिक नियमको पालना नगर्नु सडक दुर्घटनाको मूख्य कारण भएको शिक्षाविद् बद्रि लम्सालको भनाई छ । “अपरिपक्क चालकहरु न्यून तलबमा काम गर्छन,” शिक्षा विद् लम्सालले भने, “तीनीहरुमा सवारी मालिकको हो, दुर्घटना भई हाले १५ – २० दिन मात्र सजाय हुन्छ भन्ने सोचका कारण लापरवाही तवरले सवारी चलाउदा अप्रिय घटना हुन्छ ।” साथै पैदल यात्रुले समेत सडक पार गर्दा ट्राफिक नियम ध्यान दिनुपर्ने र स्थानीय सरकारको समेत जनतामा जनचेतना जगाउने काम गर्नुपर्ने शिक्षाविद् लम्सालको सल्लाह छ ।