नेपाल भारत सीमामा निर्बाध आवतजावत हुन थालेपछि कोभिड १९ संक्रमणको जोखिम बढेको छ । नेपालमा लकडाउन खुलेसँगै सीमामा गरिएको कडाइ खुकुलो हुँदा संक्रमणको जोखिम बढेको हो। लकडाउनका बेला अपनाइएको सावधानी समेत अहिले हटेको छ ।
नेपाल आउने तथा नेपालमा रहेका भारतीय आफ्नो देश जाने क्रम बढेसँगै संक्रमणको जोखिम बढेको स्थानीय प्रशासनले बताएका छन् । सीमावर्ती भारतीय जिल्लाहरूमा कोभिड १९ को संक्रमण बढिरहेकाले ती जिल्ला हुँदै नेपाल आउनेहरूले जोखिम बढाएका हुन् । लकडाउनमा अपनाइएको सावधानी पनि अहिले पालना गराउन कठिन छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले गौरीफन्टा नाका हुँदै दैनिक दुई सय मानिस नेपाल प्रवेश गरिरहेको बताए । उनले लकडाउनको बेला अपनाइएको सावधानी अहिले पालना गर्न सक्ने अवस्था नरहेको बताए । सिमानामा गरिने चेकजाँच लकडाउन खुलेपछि कम भएको उनको भनाई छ । ’लकडाउन खुलेपछि सामान्य खालको चेकजाँच गर्न पनि सम्भव छैन। अहिले आउनेहरूको सामान्य रेकर्ड राखेर जिल्लाको क्वारेन्टाइनमा पठाउने मात्रै काम हुन्छ ।’ उनले भने । सीमामा सामानको ओसारपसार र आवतजावत बढेपछि नियमन गर्न कठिनाइ भएको उनले बताए ।
कञ्चनपुरको गड्डाचौकी नाका हुँदै दैनिक ३ सय नेपाली स्वदेश फर्किरहेका छन् । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले हाल नाकाबाट निर्वाध आवतजावत भएको जानकारी दिए । उनले बिहान ६ देखि १० बजेसम्म मात्रै नेपाल प्रवेशका लागि व्यवस्था गरेको भए पनि सीमामा आएर बस्नेलाई अरू बेला पनि रोक्न सक्ने अवस्था नरहेको बताए ।
भारतबाट नेपालमा आउनको संख्या उल्लेख्य भए पनि नेपालबाट भारत जानेको संख्या भने न्यून रहेको उनको भनाई छ । नाकाबाट आउने क्रम नरोकिएसम्म कोरोना संक्रमण रोक्न कठिन हुने उनी बताउँछन् । स्थानीय सरकारले समेत नाकाबाट निरन्तर मानिस आइरहे राख्ने नसक्ने आफूलाई बताइरहेको उनको भनाई छ । ‘स्थानीय सरकार पनि वाक्क दिक्क भएका छन् । कहिलेसम्म आउँछन् मानिस कहिलेसम्म क्वारेन्टाइनमा राख्ने भन्छन् । सधैँ यस्तै हो भने राख्न सकिँदैन भन्ने उनीहरूको गुनासो आइरहेको छ ।’ उनले भने ।