कैलालीको बर्दगोरिया गाउँपालिका –३ की २४ वर्षीय उर्मिला शर्मालाई साउन १३ गते सुत्केरी व्यथाले च्याप्यो। वडास्थित सामुदायिक स्वास्थ्य इकाईमा प्रसुति सेवा नभएपछि गाउँपालिकाको वडा नम्बर–१ स्थित दोदोधरा स्वास्थ्य चौकीमा प्रसुति सेवा लिन जानुपर्ने अवस्था आयो।
तर सोही दिन राती नै अविरल वर्षा सुरु भयो। उनलाई रातिको १० बजेदेखि सुत्केरी व्यथा सुरु भयो। साउन १४ गते बिहान १२ बजेसम्म सुत्केरी व्यथाले च्यापिरहेका बेला उनका श्रीमान् चिन्तित बने। ‘लामो समय सुत्केरी व्यथाले च्यापेको थियो, त्यही बेला मुसलधारे पानी परेपछि झनै समस्या भयो’ उनका श्रीमान् ओम शर्माले भने, ‘यो अवस्थामा नदीमा आएको बाढी तर्न कठिन थियो। म आफै समस्या र पीडामा थिए।’ गाउँघरमा छिमेकीले समस्या पर्दा पुल बनेर काम गर्नुभयो। उहाँहरूको ठूलो सहयोगले उर्लिदो भेलमा नदी तराउन सफल भइयो।’
दिउँसो साढे १ बजेतिर दोदोधरा स्वास्थ्य चौकीमा शिशुको जन्म भयो। अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था ठीक छ। उनलाई स्थानीयले उद्धार गरि स्वास्थ्य चौकीसम्म पुर्याउन सहयोग गरेका हुन्।
यहाँका बासिन्दाले काँढा र कुहिरा नदीमा पुल नहुँदा वर्षेनी यस्तै दुस्ख, सास्ती खेप्दै आएका छन्। पुल नबनेपछि बालबालिका, वृद्धवृद्धा, बिरामी र सुत्केरीलाई आवत–जावत गर्न कठिनाई भइरहेकोे छ। उक्त नदीमा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन, दैनिक उपभोग्य सामान खरिददेखि लिएर अन्य कामको सिलसिलामा गाउँपालिका तथा प्रशासन कार्यालय आउनसमेत समस्या हुने गरेको बर्दगोरिया गाउँपालिका–३ का निलेश विश्वकर्मा बताउँछन्। उनले भने, ‘यो गाउँमा, यो ठाँउमा कुनै नेता नभएको आभाष जनताले गरिरहेका छन्। हरेक वर्ष वर्षायाममा यहीँ समस्याले सताउँछ। चारैतिर दुईवटा नदीले घेरिएको बस्तीमा नदी वारपार गर्न कठिन छ।’ उनले निर्वाचित जनप्रतिनिधिले जनताको समस्या प्रति कुनै चासो र चिन्ता नलिएको दुखेसो गरे।
आधारभूत भौतिक पूर्वाधार निर्माणमा जनप्रतिनिधिले ध्यान दिन नसकेको स्थानीय बताउँछन्। कम्तीमा गाउँपलिकाको केन्द्रसम्म पुग्ने सडक बाटोमा पुलपुलेसा निर्माणमा ध्यान दिएर सबैको पहुँच पुग्ने गरी संरचना निर्माण गर्नुपर्ने स्थानीय दिपक जोशीले बताए। ‘पानी परेका बेला हामीलाई आवातजावतमा समस्या हुन्छ। बजार वा सेवा केन्द्रमा पुग्न पाउँदैनौँ, कहिलेकाहीँ वर्षातको बेला बिरामी परे धेरै समस्या हुने गरेको छ’ उनले भने।
यहाँको मुख्यबजार बौनिया–मुडा जाँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता रहेको वडा नम्बर–३ का प्रेमबहादुर गुरुङ बताउँछन्। उनी भन्छन्, “हाम्रो मुख्य बजार बौनिया र मुडा हो तर, वर्षातमा हामीलाई आवतजावत गर्न निकै कठिन छ। नदीमा बाढी आएको दिन तर्न सकिँदैन । पुल नभएका कारण मुख्य काम पनि छुट्ने गरेका छन्।”
उक्त नदीमा पुल नहुँदा वर्षातमा विद्यार्थीलाई पनि विद्यालय तथा क्याम्पसमा पुग्न कठिन भइरहेको छ। हरेक वर्ष क्याम्पस पढ्ने विद्यार्थी जोखिम मोलेर खोला तर्ने गरे पनि स–साना बालबालिकालाई भने निकै समस्या हुने गरेको बसन्त मुरारी माध्यमिक विद्यालयका प्राचार्य भूमीप्रकाश बम बताउँछन्। स्वास्थ्य सेवा लिनलाई पनि स्थानीयवासीले वर्खाको बेला सास्ती खेप्दै आएका छन्।
हिउँदको समयमा जोखिम कम हुने भए पनि बर्खाको भेलमा यो खोला तर्न निकै सकस हुने गरेको छ। पुलका लागि पहल गरिदिन स्थानीयवासीले नेता कार्यकर्तालाई बारम्बार आग्रह गर्दै आएपनि हालसम्म कसैले यसतर्फ ध्यान नदिएकाले वर्षाको समयमा खोला तर्न जोखिम मोल्नुपर्ने बाध्यता यथावत रहेको छ।