महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका ब्रह्मदेवस्थित टनकपुर ब्यारेजको बाँधमा क्षति गरेको छ । दुई दिनदेखिको वर्षाका कारण महाकाली नदीमा आएको बाढीले बिहीबार ब्यारेजको नेपालतर्फका छओटा जाली बगाएको हो । बाढीले जाली बगाएसँगै भारतीय पक्षले त्यसको मर्मत गरिरहेको छ । बाँध निर्माणको जिम्मा पाएको एनएचपीसी लिमिटेडले जाली बगाएको ठाँउमा डिभाइडर राख्ने काम गरिरहेको छ । यता, महाकालीको बाढीले जाली बगाएको विषयमा आफूलाई कुनै जानकारी नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताउनुभयो । उता, भारतीय पक्षले उत्तराखण्ड प्रदेशको पिथौरागढस्तिथ धौलीगंगा जलविद्युत् परियोजनाको बाँधसमेत बिहीबार राति नै खोल्दैछ । ‘सिल्ट फ्लसिङ’ र सरसफाइका लागि भारतीय पक्षले बेला–बेलामा बाँधको ढोका खोल्ने गरेको छ । नदीले नेपालतर्फको भागमा जाली बगाएको अवस्थामा धौलीगंगाको बाँध खोल्दा आउने बाढीले ठूलो क्षति गर्नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।