बाढी प्रभावितको कन्तबिजोकः भोकै, प्यासै बित्यो तीन दिन
2020/07/31, 6:57
 
badi

कैलालीको भजनी नगरपालिका–८ को पूरै बस्ती बाढीले विस्थापित भएको छ । कान्द्रा, काँढा र पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा वडाको एक हजार एक सय ५० परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू अधिकांश हुलाकी सडकमा आश्रयस्थल बनाएर बसिरहेका छन् भने केही कृष्णध्वज चन्द माध्यमिक विद्यालयमा बसेका छन् । 

बाढीको पानीको सतह बढेकाले घरसम्म जान नसकेर हुलाकी सडकमा बस्नु परेको सोनाफाँटाका सुकै डगौरा थारूले बताए । घरमा जान नसक्ने भएकाले भोकभोकै ती दिनसम्म घरलाई नियाल्दै हुलाकी सडकमा बसिरहेको उनले बताए । हुलाकी सडकमा करिब पाँच सय परिवार आश्रय लिईरहेका छन् । हुलाकी सडकको  कृष्णनगरदेखि सोनाफाँटासम्मको अग्लो ठाउँमा बाढीबाट विस्थापित भएका परिवारहरू बसिरहेको खेम पाण्डेले बताए ।  हुलाकी सडक नै सुरक्षित स्थान भएकाले सबैजसो हुलाकी सडकमा आएर बस्ने गरेको उनले बताए । 

हुलाकी सडकको वास भएको तथा पिउने पानी र खानाको  समस्या भएको आस्मा चौधरीले बताइन् । घरमा आठ फिटसम्म पानी जमेको र अन्नपात सबै डुमाएको उनले बताइन् । अहिले दैनिक गुजारा चल्नका लागि नै समस्या परेको र कहीकतैबाट सहयोग नआएको उनीहरुको गुनासो छ । 

सबै क्षेत्र जलमग्न भएकोले खानेपानीका लागि करिब दुई किलोमिटर परबाट बोकेर ल्याएर काम चलाइरहेको उनले बताइन् । बाढी घट्ने क्रममा रहेको भए पनि तत्कालका लागि भजनी नगरपालिकाले केही राहत वितरण गरिरहेको वडाध्यक्ष पंकज चौधरीले बताए । भजनी नगरपालिकाको वडा नं. २, ३, ५ र ७ मा गरी दुई हजार घर डुबानमा परेको नगरपालिकाले जनाएको छ ।