कैलालीमा सवारी पासको दुरुपयोग गर्ने २ जना चालकसहित बस नियन्त्रणमा लिइएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका वडा नम्वर ४ बाट दुई बस र दुई जना चालकलाई नियन्त्रणमा लिएको हो ।
अछाम जिल्लाको चौरपाटी गाँउपालिका वडा नम्वर ५ बस्ने चालक गोकुल खड्का र धनगढीबाट अछाम तर्फ गईरहेको उनले चलाईरहेको ना ४ ख ९९७२ नम्बरको बस प्रहरीले नियन्त्रणमा लिएको हो । सवारी पास चेकजाँच गर्दा १३ जना यात्रु लैजाने अनुमती भएको र सो बसमा २२ जना यात्रुहरु बोकेको फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।
यस्तै कन्चनपुरको पुनरवास नगरपालिका वडा नम्बर १० का भरतसिंह धनाडीलाइ पनि प्रहरी पक्राउ गरेको छ । महेन्द्रनगरबाट बैतडी तर्फ गईरहेको ना ७ ख २७२३ नम्बरको बस सहित उनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक विष्टले बताए । सवारी पासमा १८ जना यात्रु लैजाने अनुमती भएको र उक्त बसमा ३२ जना यात्रुहरु रहेकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुई वटा बस र बस चालकहरुलाई संक्रामण रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाईएको छ ।