कैलालीमा बाढीबाट विस्थापित परिवार हुलाकी राजमार्गमा भोकभोकै
2020/07/31, 7:28
 
badi

 विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि विस्थापित भएका कैलालीको भजनी नगरपालिकाका स्थानिय हुलाकी राजमार्गमा भोकभोकै बस्न बाध्य भएका छन्। विस्थापितहरुले तीन दिनदेखि खाना नपाएको गुनासो गरेका छन्। हुलाकी राजमार्गमा बसिरहेका भजनी–८, सोनाफाँटाका सुकै डगौराले दुई दिनदेखि खान नपाएको बताए।

‘पानीसमेत पाउन मुस्किल भए पनि स्थानीय तह र अन्य निकायबाट सहयोग पाएको छैन्।’ उनले भने । हुलाकी राजमार्गमा मात्रै झण्डै सात सय ५० परिवार पाल टागेर बस्दै आएका छन्। बाढीबाट विस्थापित अरुण चौधरीले घरमा पानी पस्दा अन्नपात सबै नष्ट भएको बताए। ‘पिउने पानीसमेत पाएके छैन्। समस्या परेको बेला जनप्रतिनिधि पनि देखिएका छैनन्।’ उनले भने। 

जिल्ला प्रहरी कार्यालय कैललाीका अनुसार बुधबार र बिहीबार गरी जिल्लाभर बाढीका कारण साढे तीन हजार परिवार विस्थापित भएका छन्। कान्द्रा, काँढा र पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा सबैभन्दा बढि भजनी क्षेत्रमा समस्या भएको प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। 

विस्थापित परिवारलाई बिहीबार चाउचाउ, बिस्कुट, भुजालगायत तयारी खाद्यान्न वितरण गरिएको भजनीका मेयर शेरबहादुर चौधरीले बताए। निरन्तरको वर्षाले बाढीको सतह नघट्दा बुधबार र बिहिवार विस्थापित परिवार अझै घर फर्कन सकेका छैनन्।