जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७६\७७ मा ४७ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । लाइसेन्स विना नै सवारी चलाउने चालक, सवारीसाधनको ब्लू बुक नबोक्ने तथा सवारी नियमको पालन नगर्नेहरु ट्राफिक कारबाहीमा परेका छन् ।
गत आर्थिक वर्षमा ट्राफिक नियमको उल्लंघन गर्ने ८ हजार ३९१ जना कारबाहीमा परेका थिए, जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १५७ जना रहेका छन् । उनीहरूको कारबाहीबाट १ लाख ५७ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रकाश केसीले बताए ।
कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलनमा कमि आएको छ । आर्थिक वर्ष २०७५/७६ मा कार्यालयले ६८ लाख ८ हजार राजस्व संकलन गरेको थियो । ट्राफिक प्रहरीले जिल्लामा सवारी दुर्घटना नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको छ ।
गत आर्थिक वर्षमा गरिएको ५४ ओटा जनचेतनामूलक कार्यक्रमबाट ७ हजार ५३० जना लाभान्वित भएको कार्यालयले जनाएको छ ।‘ट्राफिक नियमको पालन नगर्नेलाई पहिलो चरणमा सम्झाइ–बुझाई काउन्सिलिङ गर्छौं,’ ट्राफिक प्रमुख केसीले भने, ‘सवारी दुर्घटना नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमसँगै चेकजाँचमा पनि कडाइ गरेका छौं । आम सवारीचालक जिम्मेवार भएमा दुर्घटनाको जोखिम घट्छ ।’
गत आर्थिक वर्षमा जिल्लामा भएका ५४ ओटा दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका छन् भने २२ जना गम्भीर घाइते र ३४ जना सामान्य घाइते भएका थिए ।