घरमा पसेको बाढी घटेपछि कैलालीको दुई स्थानीय तहका बाढी प्रभावित घर फर्किन थालेका छन् । जोशीपुर र टीकापुर नगरपालिकाका बाढी प्रभावित घर फर्किन थालेका हुन । घरबाट पानी निस्केपछि उनीहरु आ–आफ्नो घरतिर फर्किरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
दुवै स्थानीय तहका धेरै विस्थापितहरु शुक्रबार घर फर्केको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ‘अब केही विस्थापितमात्रै घर फर्किन बाँकी रहेको छ’, उनले भने । तर, भजनी नगरपालिकाका प्रभावित भने अहिलेसम्म घर फर्कन नसकेको उनले जनाए ।
जोशीपुर गाउँपालिकाका अनुसार सो गाउँपालिकामा दुई हजार ५०० सय घरपरिवार बाढीबाट प्रभावित भएका थिए । पानी घटेपछि प्रभावितहरु अवस्था हेरेर घरमा फर्किने कार्य जारी रहेको जोशीपुर गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण स्रोतव्यक्ति भानुभक्त उपाध्यायले बताए ।
‘हामीले हिजो अल्पकालीन राहत बाँडेको हो’, उनले भने । ‘बाढी घटेपछि अवस्था हेरेर प्रभावितहरु घरतिर फर्किरहेका छन् ।’ यद्यपि, सबै प्रभावित भने तत्काल नै घर फर्किन सक्ने अवस्था अझै नरहेको उपाध्यायले बताए । उनका अनुसार कतिपय क्षेत्रमा अझै पनि बाढीले घर डुबाएको छ । घर फर्किन नसकेकाहरु सुरक्षित ठाउँमा बसेको जनाइएको छ ।
भजनी नगरपालिकामा भने शुक्रबारसम्म बाढी नघटेपछि प्रभावित घर फर्किन सकेका छैनन् । बाढी नघटेका कारण उनीहरुको अवस्था झनै विकराल बनेको छ । मोहना, पथरैया, काँढा र कान्द्रा नदीमा पुनः पानीको सतह बढेपछि प्रभावित झनै समस्यामा परेका हुन । बुधबार आएको बाढीले सो नगरपालिकाका दुई हजार ४१५ घरपरिवार प्रभावित भएका छन् । भने, एक हजार ६७१ घरपरिवार विस्थापित भएका छन् ।
बाढी नघटेकाले विस्थापित परिवार घरमा फर्किन सक्ने वातावरण सृजना नभएको भजनी नगरपालिकाका विपद् जोखिम न्यूनीकरण स्रोतव्यक्ति खिम पनाडीले बताए । ‘बाढी घटेकै छैन, नदीमा पानीको सतह फेरि बढ्न थाल्यो’, उनले भने । ‘यहाँका प्रभावितहरुको अवस्था झनै विकराल बनिरहेको छ ।’
सो नगरपालिकाको वडा नम्बर ८, ७ र ३ का अधिकाङ्श विस्थापित परिवार हुलाकी सडकमा बसेको भजनी नगरपालिकाले जानकारी दिएको छ । उनीहरुलाई हालसम्म चिउरा, चाउचाउ जस्ता ‘ड्राइ फूड’ र पानीबाट बच्नका लागि त्रिपालमात्रै दिने कार्य भएको पनाडीले बताए ।
‘घरमै बसेका कतिपय प्रभावितले ड्राइ फूड पनि पाउन सकेका छैनन्’, उनले भने । ‘उद्धार गर्ने र मनोपरामर्श दिने कार्य जारी छ । आज पनि धेरै प्रभावितको उद्धार गरिएको छ ।’ जिल्लाभरि गरेर बाढीबाट छ हजारभन्दा बढी घरपरिवार प्रभावित भएका थिए । यसैगरी, बाढीले घर, पशुचौपाया, धनसम्पत्तिमा ठूलो मात्रामा क्षति गरेको छ । क्षतिको विवरण स्थानीय तहले सङ्कलन गरिरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
यसैबीच, बाढीले विभिन्न ठाउँमा हुलाकी राजमार्ग भत्काएको छ । बाढीले सडक भत्काएका कारण आवतजावतमा समस्या रहेको छ ।
तीनै जनाको शव फेला
यसैबीच, कैलालीमा बाढीले बगाएका तीनै जना व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिका–८ काँढाढिकका ४० वर्षीय इश्वर शाह, ३३ वर्षीय चक्र बिकको शव शुक्रबार फेला परेको हो ।
सुरक्षाकर्मीको उद्धार टोलीले शाहको शव विहान र विकको शव दिउँसो फेला पारेको थियो । सोही वडास्थित जनकपुर गाउँका ११ वर्षीय बालक एजिकल चौधरीको शव भने हिजो अपराह्नतिर फेला परेको थियो ।
काँढा नदीमा आएको बाढीले बुधबार उनीहरुलाई बगाएको थियो । सुरक्षाकर्मीको उद्धार टोलीले पथरैया र गैरी खोलाको दोभान नजिक झाडीमा अड्केको अवस्थाबाट शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
आफन्तको उद्धार गर्न जानेक्रममा काँढाढिकका शाह र बिकलाई बाढीले बगाएको थियो । उनीहरुसंगै बगेका दुई जनाको भने सकुशल उद्धार गरिएको थियो । बाढीले विपद्मा एउटै वडाका तीन जनाको ज्यान गएपछि वडा नम्बर ८ शोकाकूल भएको छ । बाढी प्रभावितलाई विपद्माथि विपद् परेको छ ।