साँफेबगर–मार्तडी सडक अवरुद्ध भएको तीन साताः क्षतिग्रस्त सडक बनाउन दुई अर्ब चाहिने
2020/08/01, 11:09
 
sadak

साँफेबगर अछामका डिभिजन सडक प्रमुख ललित खनाल केही दिनयता काठमाडौंमा छन । उनी कहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय त कहिले सडक विभाग धाउन व्यस्त छन । अविरल वर्षासँगै झरेको पहिरोका कारण साँफेबगर–मार्तडी सडक अवरुद्ध भएको तीन साता हुन लाग्यो । सडक खुलाउने विकल्प नभेटेपछि उनी समस्या बोकेर राजधानी आएका हुन् । ‘पानी पर्न रोकिएको छैन, पहिरोसँगै खसेका ठूला ढुंगाका कारण सडक बन्द छ,’ उनले भने, ‘पहिरो पन्छाउने मेसिन भए पनि त्यसबाट काम सक्ने अवस्था छैन ।’ यो सडक असार २८ देखि बन्द छ ।

उनका अनुसार बाजुरा सदरमुकाम मार्तडी जोड्ने यो सडक बन्द भएपछि यातायात ठप्प छ । ‘सबैभन्दा अप्ठ्यारो ताप्रिसेरा–अम्कोट–द्वारी खण्डमा छ,’ खनालले भने, ‘भित्ता कोतरेर खोल्न मिल्ने भए उहिल्यै खोलिसक्थ्यौं, भित्तातिर ठूलाठूला ढुंगा थुप्रिएर बसेका छन् ।’ अन्यत्र पहिरो सफा गरेर सडक सञ्चालन गर्न सके पनि यो खण्ड खोल्न नसकिएको उनले गुनासो गरे । यो सडक साँफेबगरबाट बाजुरा सदरमुकाम मार्तडी जोड्ने सडक हो ।

अहिले सदरमुकाम आउजाउ टुटेको छ । उनका अनुसार अहिले ‘जियो टेक्निकल’ स्टडी गर्ने विषय उठेको छ । ‘मार्तडी जोड्ने यही एउटा सडक हो,’ उनले भने, ‘त्यसैले यसको दीर्घकालीन समाधान निकाल्नुपर्छ भनेर काठमाडौं आएको हुँ ।’ समस्या साँफेबगर–मार्तडी सडकमा मात्र होइन, बाढीपहिरोले क्षति पु¥याएका दुई दर्जन सडक खण्ड अवरुद्ध छन । कतै पुल त कतै सडक नै बगाएका कारण तिनमा यातायात सञ्चालन हुन सकेको छैन ।