सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेपछि, स्थानीय युवाहरुले छुट्टै क्वारेन्टिन स्थापना गरेका छन् । कैलालीको धनगढी उप–महानगरपालिका–११ मा भारतबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्न समस्या भएपछि युवाहरु मिलेर छुट्टै क्वारेन्टिन स्थापना गरेका हुन ।
साउन ३ गते भारतबाट आएका ५ जनालाई राख्न समस्या भएपछि दक्षिणकाली टोल विकास समितीले टोलको छुट्टै घरमा क्वारेन्टिन स्थापना गरेको थियो । उक्त क्वारेन्टिन बसेका ५ जना मध्ये ४ जनालाई बिहीबार कोरोना पोजेटीभ देखीएको छ ।
उनिहरुमा कोरोनाको लक्षण नदेखीएपछी क्वारेन्टिनमा बसिरहेको, पुनः परिक्षण गरि रिपोर्ट नेगेटीभ आएपछि वडाअध्यक्ष र स्वास्थ्यकर्मीको सल्लाहमा घर पठाउने टोल विकास समिती अध्यक्ष चन्द्रमणी भट्टले जानकारी दिए । क्वारेन्टिनमा विद्युत, पंखा, झुल, साबुन, खानेपानि लगाएतको सहयोग उप–महानगरपालिका–११ वडा अध्यक्ष गंगाराम रानाले गरेको उनले बताए । यस्तै खाना र कपडा क्वारेन्टिनमा रहेका व्यक्तिहरुको घरबाट ल्याउने गरेको भट्टले बताए ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय गरेको थियो । सरकारले शैक्षिक सत्र २०७७÷७८ को विद्यार्थी भर्ना भदौ १ देखि सुरु गर्ने बताएको छ । ०७६÷०७७ को नतिजा प्रकाशन बाँकी भए तत्काल गर्ने, भदौ १ देखि विद्यार्थी भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीको संख्या यकीन गर्ने, पाठ्यपुस्तक उपलब्ध गराउने र शिक्षकहरु अबिलम्ब विद्यालय पुग्ने व्यवस्था गर्ने पनि सरकारले निर्णय गरेको छ ।