नदी कटान र डुबान नियन्त्रणका योजना नहुँदा वर्षेनी धनजनको क्षती
2020/08/01, 11:24
 
badi

दक्षिण पूर्वी कैलालीमा यसै साता अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा झण्डै सात हजार घर डुबानमा परेपछि हजारौँ नागरिक विस्थापित भए । बाढीकै कारण तीन जनाको मृत्यु भएको छ । खासगरी जिल्लाको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिका बाढीबाट सबैभन्दा बढि प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ ।

कर्णाली, कान्द्रा, पथरैया, मोहना लगायतका नदी तथा विभिन्न खहरे खोलाको बाढी वस्तीमा पस्दा खेतीयोग्य जमिनमा समेत क्षती पुगाएको छ। जिल्लाको पूर्वी क्षेत्रमा वर्षातमा आउने बाढीका कारण हुने डुबान तथा कटानका कारण धनजनको क्षती गर्दै आएको भएपनि विपद व्यवस्थापनका योजना प्रभावकारी बन्न सकेको छैन् ।

स्थानीय तहहरुले भने डुबान तथा कटानको समस्या समाधानका कार्यक्रम सञ्चालन गर्दै आएको दावी गर्ने गरेका छन् भने प्रदेश र संघिय सरकार मातहतका निकायबाट समेत नदी नियन्त्रणमा कार्यक्रम सञ्चालनमा छन । तर प्रभावकारी नहुँदा समस्या दोहोरिने गरेको छ । टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले नदी कटान तथा डुबान नियन्त्रणका कार्यक्रम सञ्चालन गरिदै आएको बताए ।

उनले रानीजमरा कुलरिया सिँचाई आयोजनाले समेत तटबन्ध निर्माण गर्ने गरेको भएपनि प्राकृतिक विपदलाई नियन्त्रण गर्न सम्भव नहरेको जिकिर गरे । स्थानीय तहहरुले नदी तथा खोलाहरुमा वर्षेनी तटबन्धका योजनामा समेत ठुलो बजेट खर्च गर्ने गरेका छन्। तर स–साना योजना बनाएर कार्यकर्ता खुसी बनाउने माध्यम मात्रै भएपछि लगानी वालुवामा पानी खन्याए सरह हुने गरेको छ। कतिपय स्थानीय तहहरुले भने प्राकृतिक विपदको व्यवस्थापन गर्न सम्भव नहुने दावी समेत गर्दै आएका छन्।

तैपनि पूर्व सक्दो प्रयास गरी नदी नियन्त्रणका योजना सञ्चालन गर्दै आएको भनाई उनीहरुको छ । भजनी नगरपालिकाकी उपप्रमुख छाया देवकोटाले प्राकृतिक प्रकोप नियन्त्रण बाहिरकै कुरा भएको बताईन् । उनले खोला तथा नदीहरुमा निर्माण गरिएका तटबन्धले वर्षातको समयमा बाढी नियन्त्रण गर्न नसकेको बताउँदै बाध फुटेर बस्तीमा पस्दा ठुलो क्षती भएको जनाईन् ।

जिल्लामा चुरे भएर बग्ने नदी र खहरे खोला तराई डुबानको मुख्य कारक भएको जिकिर समेत गरिएको छ। ती नदीहरु बस्ती पस्न नदिन ठुलो खालको तटबन्ध आवश्यक पर्ने भएकाले स्थानीय पालिकाबाट सम्भव नभएको भन्दै प्रदेश र संघिय सरकारसँग माग गरिदै आएको छ । तर दुवै सरकारबाट समेत स–साना योजना हालिन थालेपछि बाढी नियन्त्रणमा चुनौती थपिएको छ।

जानकी गाउँपालिकाका प्रदीपकुमार चौधरीले नदी कटान तथा डुबानको समस्या न्युनिकरणका लागि तटबन्ध गर्न करोडौँ बजेट आवश्यक पर्ने बताए । जुन स्थानीय तहबाट सम्भव नहुने भएकाले प्रदेश र संघिय सरकारसँग माग गरिएको उनको भनाई छ । तर गाउँपालिकाले समेत स–सानो बजेटबाटै भएपनि प्रभावित क्षेत्रमा नदी नियन्त्रणका योजना सञ्चालन गर्दै आएको चौधरीले बताए। तर नदी कटान र डुबानका प्रभावकारी योजना नभएकै कारण वर्षेनी वर्षातको समयमा ठुलो क्षती हुने गरेको खबर दिनेश खबर डटकमले लेखेको छ ।