कञ्चनपुर हत्या घटनाः अनुसन्धानको दायरामा छोरा र छोराको साथी
2020/08/01, 11:36
 
mureder

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ को भगतपुरमा गएराति भएको हत्या घटनाको अनुसन्धानमा रहेको प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले ३८ वर्षीय राजेश खाती र ३५ वर्षीय दिनेश खातीलाई नियन्त्रणमा लिएको बताए ।

 “प्रारम्भिक अनुसन्धानको क्रममा शंका लागेर घटनाबारे सोधपुछका लागि हामीले नियन्त्रणमा लिएका हौं”, डीएसपी थापाले देखापढीसँग भने, “हत्यामा कसको संलग्नता रह्यो भन्नेबारे अनुसन्धान गरिरहेका छौं।” गएराति ५६ वर्षीय बेलु खातीको नचिनेका मानिसहरूको समूहले धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । उनका पति ६२ वर्षीय घनश्याम खाती गम्भीर घाइते भएका छन् ।

पक्राउ परेकामध्येका राजेश भने खाती दम्पतिकै छोरा हुन । र, दिनेश भने राजेशका साथी हुन् । उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको डीएसपी थापाले बताए। प्रहरीले घटनास्थलको शव प्रकृति मुचुल्का तयार गरेको छ । पोष्टमार्टमका लागि बेलुको शव स्थानीय श्रीपुर स्वास्थ्य चौकीमा पठाएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते घनश्यामलाई भने उपचारका लागि धनगढी पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्जतर्फ पठाइएको छ । “ज्यान जाने गरी धारिलो हतियार प्रहार गरी भएको घटनाको अनुसन्धानलाई गम्भीर रूपमा लिएका छौं”, डिएसपी थापाले भने, “राति एक बजेतिर घटना भएको देखिन्छ र कसले ग¥यो भन्ने चाहिँ खुल्न सकेको छैन ।” संघीय प्रहरी इकाई कार्यालय धनगढीबाट घटनाबारे विस्तृत अनुसन्धानका लागि विशेषज्ञ कुकुर सहितको टोली खटाइएको छ ।