धनगढी उपमहानगरपालिकाका अधिकांश संक्रमित भारतसँग सीमा जोडिएका वडाका 
2020/08/02, 7:28
 
corona

धनगढी उपमहानगरपालिकामा संक्रमण देखा परेका मध्य ८० प्रतिशत व्यक्ती भारतसँग सीमा जोडिएका ८ वटा वडाका रहेका छन् । हालसम्म उपमहानगरपालिकामा एक सय २६ जनामा कारोना संक्रमित रहेका छन् । धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक लक्ष्मी राज उपाध्यायका अनुसार भारतसँग सीमा जोडिएका ती वडाका भारतबाट आएका व्यक्तिहरुमा कोरोना संक्रमण बढी पुष्टि भएको छ ।  ‘अधिकांश कोरोना संक्रमित सीमासँग जोडिएका वडाका रहेका छन् ।’ स्वास्थ्य निरीक्षक उपाध्ययायले भने ‘त्यसैले ती वडामा समुदायस्तरमा कोरोना फैलिन सक्ने उच्च जोखिम छ ।’ उपमहानगरपालिकाका वडा नम्बर १, २, ९, १०, १२, १४, १८ र १९ मा बढी कोरोना संक्रमित रहेका छन् ।

ती वडामा कोरोना संक्रमित भएकाहरु अधिकांश भारतबाट आएका छन् । ‘भारतबाट आएर समुदायमा बसेका व्यक्तिहरुमा कोरोना देखा परिरहेको छ । उपाध्यायले भने ‘त्यसैले समुदायमै परिक्षणको दायरा बढाउनु पर्ने अवस्था छ ।’ उपमहानगरपालिकाका वडा नम्बर ९, १६ र १८ बढी संक्रमित रहेका छन् । सेती प्रादेशिक अस्पतालमा शुक्रवार गरिएको गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएका १६ जना नै होम क्वारेन्टिनमा रहेकाहरु हुन् । कोरोना संक्रमण पुष्टि भएका १६ जना मध्ये उपमहानगरपालिकाको वडा नम्बर १४ का ५, वडा नम्बर १८ का १, वडा नम्बर ४ का ४, वडा नम्बर १२ का ३ तथा वडा नम्बर ११, ६ र ८ का एक एक जना रहेका छन् । संक्रमित १६ मध्ये ८ महिला र ८ पुरुष रहेका छन् ।ती सबै भारतबट घर फर्किएपछि होम क्वारेन्टिनमा बसिरहेका थिए । धनगढी उपमहानगरपालिकाले शुक्रवार उनीहरुको खोजी गरेर साझ मात्र उनीहरुलाई आइसोलेसनमा ल्याएको छ ।

सरकारले भारत सहितका देशहरुबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टिनमा नै राख्ने र होम क्वारेन्टिनमा रहेको दश दिनपछि आरडीटी परिक्षणमा पोजिटिभ देखापरे पीसीआर बिधिबाट कोरोनाको परिक्षण गर्ने  गरेको छ । घर र समुदायमा घुलमिल भैसकेपछि कोरोनाको परिक्षण गरिने भएकोले समुदाय स्तरमा कोरोना फैलिसकेको हुन सक्ने आशंका उपाध्यायको छ । ‘कोरोनाको रिपोर्ट आउदासम्म  सम्पर्कमा रहेका व्यक्तिहरुको पनि परिक्षण गर्नु पर्ने अवस्था निर्माण भैरहेको छ ।’ उपाध्यायले भने ‘त्यसो नगर्दा संक्रमण अझै फैलिन सक्ने खतरा बढिरहेको छ ।’ उपाध्याय हुलाकी राजमार्ग भन्दा दक्षिण रहेका ती वडाहरुमा कोरोनाबारे सचेतना वृद्धि,  परिक्षण वृद्धि र निगरानी अझै बढाउनु पर्ने बताउँछन् ।