शेरबहादुर ऐर– शुक्रबार राति पहिरोले घर चर्काउन थालेको थाहा पाएपछि कैलालीको चुरे गाउँपालिका ५ कट्रेनीका नरभान धामीले छिमेकीबाट सहारा मागे । अनि छिमेकीले उनका परिवारलाई सहारा दिए । उनी २०७४ सालमा सोही वस्तीमा बस्दै आएका छन । वस्तीमा बसेदेखि बाढी तथा पहिरोको समस्या नझेलेका उनी यस वर्षको लगातारको वर्षाका कारण पीडित भए। उनले भने, ‘म तीन वर्षदेखि यहीँ बस्दै आएको छु । तर, अचानक पहिरो आउँदा घर नै भत्किने अवस्था आयो ।’
शनिबार दिउँसो पत्रकारको टोली कट्रेनी पुग्दा उनको घर चर्किएको अवस्थामा देखिन्थ्यो भने ढल्नै लागेको गोठमा गाइभैंसी थिए। उनले घर देखाउँदै भने– अहिले छिमेकीको सहायतामा त्यहीँ बसेको छु । सोही बस्तीका जग्गो धामीको घर पनि पहिरोले बगाएपछि उनको परिवार विस्थापित भएको छ। उनको घरमा पाच जनाको परिवार छ । उनले भने, ‘परिवार बसेको घर कतिखेर पहिरोले लग्छ भन्ने चिन्ता बढेको छ ।’ सोही वडाका धौले बोहराले भने, ‘माथि र तल दुवैतिरबाट पहिरो गइरहेको छ ।’ उनले सबैतिरबाट पहिरो गएपछि सुरक्षित स्थानमा बसोबास गर्ने व्यवस्था गर्नुपर्ने बताए । २०५२ सालमा पहिरोका कारण सोही वस्ती बगाएको थियो । त्यतिबेला त्यहाँका बासिन्दा खुटियामा गएर बसेका थिए । स्थानीय धौलेले भने, ‘हामीलाई न त्रिपाल चाहिएको छ, न चाउचाउ । हामीलाई सरकारले सुरक्षित बसोबास गराइदिओस् ।’ उनले बस्ती स्थानान्तरण गरि बाढी तथा पहिरोबाट जोखिममुक्त गराउन सरकारले कार्यक्रम अघि बढाउन आग्रह गरे ।
गत मंगलबारदेखि लगातार भएको वर्षाका कारण चुरे गाउँपालिकाको कट्रेनी मात्र नभई अन्य वस्ती पनि जोखिममा परेका छन् । कट्रेनीका २९ घरका १५१ जना विस्थापित हुनुपर्ने अवस्था आएको चुरे गाउँपालिकाका प्रवक्ता नरबहादुर तामाङले बताए । उनका अनुसार कट्रेनीसँगै गाउँपालिकाको वडा नम्बर ५ मै रहेको राजवनका नौ घरपरिवार र गुणीगाउँका आठ घरपरिवार विस्थापित हुनुपर्ने अवस्था आएको बताए। उनका अनुसार सिमरगैराका आठ घर पूर्ण रुपमा विस्थापित भएका छन् । ‘बस्ती स्थानान्तरण नगरेसम्म समस्या समाधान हुँदैन,’ उनले भने । उनले जोखिममा रहेका वस्तीहरू स्थानान्तरण गर्नुपर्ने बताए । प्रवक्ता तामाङको अनुभवमा बस्तीहरूमा पहिरोको समस्या बढ्नुको मुख्य कारण व्यापक वन विनास नै हो । यस वर्षको झरीपछि आएको पहिरोले चुरे गाउपालिकाकै वडा नम्बर ५ को गुणीगाउँका आठ वटा घर बगाएको छ । सो घरमा रहेका परिवार सकुसल रहे पनि कहाँ बसोबास गर्ने भन्ने चिन्ता भने बढेको छ । गुणीका नरि बोहराले भने, ‘हामीलाई दाल चामल, त्रिपाल चाहिएको छैन । हाम्रो स्थायी बसोबास होस् ।’
पहिरो पीडितलाई राहत सामग्री
चुरे गाउँपालिकाको दुई वडा पहिरोले प्रभावित पारेपछि त्रिपाल लगायतको सामग्री वितरण गरिएको छ । शनिबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पहिरो पीडितलाई राहत सामग्री हस्तान्तरण गरे । सो अवसरमा गाउँपालिका वडा नम्बर ५ का पाँच परिवारलाई त्रिपाल र अन्य १५ परिवारलाई गैरखाद्य सामग्री प्रदान गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगर, नेपाल रेडक्रस सोसाइटी, कैलालीका सहकोषाध्यक्ष गोविन्दप्रसाद जोशी, सदस्य गिता सोडारी लगायतको उपस्थिति रहेको थियो ।