सेतीमा बेपत्ता भएका स्वास्थ्यकर्मी खोज्दै गोताखोर टिम
2020/08/02, 6:30
 
Seti

सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मी अझैं फेला परेका छैनन्। डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका १० सेती किनार गहनानमा नुहाउन गएका चार जनामध्ये तीन जनालाई सेतीले बगाएको थियो।

बेपत्ता भएका स्वास्थ्यकर्मीलाई सात जना शसस्त्र प्रहरीको गोताखोर टिमले खोजीरहेको जिल्ला प्रहरी कार्यालय डोटीका एसपी जनकराज पाण्डेयले जानकारी दिए। जिल्लामा रहेका तीनजना र बाँकी चार जनालाई काठमाडौंबाट बोलाएर सेतीमा हराएका स्वास्थ्यकर्मीको खोजीकार्य भइरहेको उनले बताए। 

डडेल्धुरा अस्पतालमा कार्यरत चारजना शनिबार बिहानै शैलश्वरी मन्दिर दर्शनका लागि गएका थिए। मन्दिर दर्शन गरी फर्किँदा नुहाउने क्रममा उनीहरुमध्ये तीनजनालाई नदीले बगाएको थियो। 

परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशी, बझाङ स्थायी घर भएका  हेल्थ असिस्टेन्ट (एचए) विनय सिंह बेपत्ता भएका हुन्। अर्का खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरी बचाएका थिए।