शुक्रबार कैलालीमा सवारी पासको दुरुपयोग गर्ने दुईजना चालकसहित प्रहरीले बसलाई नियन्त्रणमा लियो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका वडा नम्वर ४ बाट दुई बस र दुई जना चालकलाई नियन्त्रणमा लिएको छ।
सवारी पास चेकजाँच गर्दा क्षमता भन्दा बढी यात्रु बोकेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। तर संगै रहेको अर्को बसले पनि अनुमती भन्दा बढि यात्रु बोकिरहेको फेला परेपनि उक्त बसका चालकलाई भने पहुँचको भरमा छोडिएको आरोप यातायात व्यवसायी कर्णबहादुर जोराको छ।
‘हाम्रो गाडीको जती नै मान्छे अरुमा पनि थिए’, उनले भने, ‘हामीलाई कारवाही गरियो तर अर्को गाडीलाई भने छोडियो।’ कैलालीसंगै कञ्चनपुर र प्रदेशका अन्य जिल्लाहरुमा समेत अहिले सावरी साधान प्रहरीले नियन्त्रणमा लिएको छ। प्रशासनको अनुमती भन्दा बढी यात्रु बोकेकै आरोपमा केही सवारीलाई प्रहरीले नियन्त्रणमा लिने गरेको भएपनि कतिपयलाई भने सोधपुछ नै नगरी छोड्ने गरेको छ।
नियन्त्रण लिएका सवारी तथा चालकलाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाही गरिने भएपनि प्रहरीकै सहयोयमा सामाजिक दुरी समेत काम नगरि यात्रु ओसार्ने सवारी साधन र व्यवसायीलाई उन्मुक्ती दिईएको छ। तर प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख मोहन साउदले भने ‘कानुन विपरित संञ्चालन भईरहेका सवारीलाई कारवाही गरिरहेका छौं’ साउदले भने, ‘क्षमता भन्दा बढी यात्रु बोकेको गाडीलाई छोडेको कुरा मेरो जानकारीमा छैन्।’
गृह मन्त्रालयको निर्देशन पछि जिल्ला प्रशासन कार्यालय कैलालीले समेत जिल्ला भित्र संञ्चालन हुने सवारीको हकमा पास अर्थात अनुमती आवश्यक नपर्ने जनाएको छ। जसका कारण सवारी चालकले समेत बढी यात्रु बोक्दै आएका छन्। स्थानीय प्रशासनका अनुसार जिल्ला भित्र संञ्चालन हुने सवारीमा दुई सिटमा एक जनालाई मात्र राख्न पाउने व्यवस्था मिलाईएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
‘जिल्ला भित्र पास आवश्यक पर्दैन’, उनले भने, ‘जिल्ला बाहिर भने अत्यावश्यक परस्थितीमा मात्रै पास दिने गरेका छाँै।’ काजकिरिया बस्न घर फर्किने अथवा घरबाट फर्किने, सरकारी अस्पतालबाट रेफर गरिएका विरामी तथा तीन जना कुरुवा, सरुवा भएका कर्मचारी तथा निजको परिवार र विदेश जान हवाई सूचीमा नाम भएकाहरुलाई मात्रै सवारी पास उपलब्ध गराईने कैलाली प्रशासनले जनाएको छ।