बैतडीमा जंगली जनावरले बालीनाली सिध्याउँदै, किसान रातदिन जाग्राम
2020/08/03, 2:25
 
Bali

जंगली जनावरले अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान मर्कामा परेका छन्‌।​ जिल्लाका सबैजसो क्षेत्रमा दिनको समयमा बाँदर तथा रातीको समयमा दुम्सी र जंगली बँदेलले बालीनाली सखाप पार्न थालेको छ।

जंगली बँदेलले मकैबाली खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार-३ श्रीकोटका प्रेमसिंह विष्टले बताए। उनले भने, ‘जंगली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ।’

सुर्नया गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाएको मकैबाली पनि जंगली जनावरले खान थालेको छ। गाउँपालिकाको वडा नं ७ स्थित मालमपुर, सिंजा लगायतका क्षेत्रमा बँदेलले बालीनाली खाइदिएर हैरान पारेको स्थानीय दीपेन्द्र कुँवरले बताए। 

फौजी र फेदकटुवा कीराबाट बल्लतल्ल जोगाइएको अन्नबाली फेरि बँदेललगायत जंगली जनावरले खाइदिएपछि यस क्षेत्रमा खाद्यान्न उत्पादन स्वाट्टै घट्ने देखिएको छ। 

बैतडीका किसानहरूले लगाएको बालीनाली वर्षेनी जंगली बँदेल र दुम्सी लगायतका जनावरहरूले खाइदिने गरेको छ। अरू बालीभन्दा पनि मकैखेती सखापै पारिदिने गरेको किसानहरूले बताएका छन्‌। जिल्लास्थित सबैजसो स्थानीय तहमा जंगली जनावरले खेतीपाती खाइदिने गरेको छ।

खेतमा लगाएको मकैबाली जंगली बँदेलले पूरै नष्ट गरेको दशरथचन्द नगरपालिका-१ का किसान वीरबहादुर टेरले बताए। जंगली बँदेलले मकैबाली नष्ट गरेपछि खाद्यान्न अभाव हुने चिन्ता थपिएको उनको भनाई छ।