डोटीमा पानीका मुहान सुक्न थाले
2020/05/16, 4:33
 
water

गर्मीयाम शुरु भएसँगै जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा खानेपानीको चरम समस्या बढ्दै गएको छ । जिल्लाका शिखर नगरपालिका–१ सेरी र कपल्लेकी, दिपायल सिलगढी नगरपालिका–६ पाकरी र रातुली, वडा नं ४ दिपायल, पिपल्ल र राजपुर तथा  आदर्श गाउँपालिका–२ मौवा नगरदहलगायत क्षेत्रमा मुहान सुक्न थालेपछि सो समस्या हुन थालेको हो। तरकारी तथा फलफूल पानी नपाउँदा बोटमै सुक्न थालेका छन । 

शुद्ध खानेपानी नपाउँदा यहाँका नागरिक सेतीनदी, कुवा तथा खोलाको दूसित पानी प्रयोग गर्न थालेका छन्। यहाँका पुराना धारा, कुवा, खोलामा पानीका लागि स्थानीयवासीको भीड लाग्ने गरेको छ । गर्मी मौसम शुरु भएसँगै यहाँका नागरिकलाई आगामी असारसम्म शुद्ध खानेपानीका लागि कष्ट हुने गरेको छ । खानेपानी तथा सुपरीवेक्षण कार्यालय दिपायल राजपुरका अनुसार जिल्लामा प्राचीनकालमा निर्माण भएका कम्तीमा पनि १०० भन्दा बढी पुराना नाउला, कुवा तथा धारा रहेका छन् ।

गर्मी मौसमले मुहानको पानी सुक्दै जान थालेपछि खानेपानीको समस्या भएको शिखर नगरपालिका–१ सेरीका हर्कबहादुर लुहारले जानकारी दिए । उनले भने, “गर्मी मौसमले खानेपानीका मुहान सुकेर धारामा पानी आउन बन्द भएको छ, कुवा, नाउला पनि सुक्दै गएका छन्, पानीको निकै दुःख हुँदै आएको छ।” जिल्लाका गाउँघरमा भएका पुराना खानेपानी आयोजना मर्मत सम्भार नहुँदा र जनसङ्ख्या वृद्धि हुँदा पानीको ठूलो कष्ट हुने गरेको खानेपानी सरसफाइ तथा उपभोक्ता महासङ्घका अध्यक्ष हस्तबहादुर बुढाले बताए । उनले भने, “गाउँघरमा रहेका पुराना खानेपानी आयोजना मर्मत भएका छैनन, बस्ती पनि बाक्लो भयो, गर्मी मौसमका कारण पानीका मुहान सुकेकाले पानीका लागि कष्ट हुँदै आएको छ ।” 

अहिले यहाँका बजार तथा गाउँ घरका नागरिकले पानीकै लागि कम्तीमा पनि एक घण्टा टाढा जानुपर्ने बाध्यता रहेको दिपायल सिलगढी–४ कुमालीकोटका भरतबहादुर कठायतले बताए । उनले भने, “खानेपानीका लागि घण्टौँ टाढा जानुपर्छ, त्यो पनि खोलाको दूसित पानी पिउनुपर्ने बाध्यता रहेकाले दुःख भएको छ।” तत्कालीन श्री ५ को सरकारले शिखर नगरपालिका–१ को नापानी मुहानमा करिब १४ किमी टाढाबाट तीन÷चार दशकअघि बनाएको खानेपानी आयोजना जीर्ण बन्दा अहिले खानेपानीको निकै दुःख भएको स्थानीयवासी बताउँछन् । निर्माण भएको लामो समयसम्म पनि उक्त खानेपानी आयोजनाको मर्मत सम्भार नहुँदा अहिले समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ । यहाँका गाउँघर तथा बजारमा खानेपानीको कष्ट भएपछि जीप रिजर्भ गरेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता रहेको दिपायल पिपल्लाका दिलबहादुर साउदले बताए । उनले भने, “नजिक खानेपानीको मुहान नहुँदा टाढाबाट आपूर्ति गराउनुपर्ने हुन्छ, विशेष गरेर बजारमा बस्नेलाई खानेपानीको दुःख छ ।” 

आदर्श गाउँपालिका–२ मौवानगर दह, बामन टाक लगायतका ठाउँमा खानेपानीको चरम समस्या भएको स्थानीयवासीको गुनासो रहेको छ । सुक्खायाम शुरु भएसँगै आफूहरुले पानीका लागि एक घण्टाको पैदल दूरीबाट पानी ल्याउनुपरेको मौवानगरदहका आरती थापाले बताए । उनले भने, “गर्मी मौसम शुरु हुनासाथ हामीलाई पानीको दुःख हुने गरेको छ, अहिले खानेपानीका लागि एक घण्टाको दूरीमा रहेको कुवाबाट पानी ल्याउनुपर्ने बाध्यता छ ।”  प्राचीनकालका धारा, नाउला र कुवामा समेत पानी सुकेपछि खानेपानीको कहर उत्पन्न भएको हो ।

खानेपानीको अभावमा कतिपय स्थानीयवासीलाई शौचालय प्रयोग गर्न समेत समस्या हुँदै आएको छ । वर्षेनी गर्मीयामको समयमा खानेपानीको अभाव झेल्दै आइरहेका जिल्लावासी यतिखेर खानेपानीको अभाव पर्न थालेपछि आफ्नो दैनिक क्रियाकलापमा समेत असर परेको बताउँछन् । जिल्लाको दिपायल, पिपल्ला, कालागाड, बाफी, गेरुपानी, समूहगाडलगायतका स्थानका नागरिक घण्टौँ समय लगाएर सेती नदीमा नुहाउन, कपडा धुन, पानी ओसार्न जानुपर्ने बाध्यता हुँदा बालबच्चा तथा बस्तुभाउलाई हेरचाह गर्नमा कठिनाइ उत्पन्न हुने गरेको छ । 

खानेपानीको चरम अभाव परेसँगै स–साना वालबालिका पनि सेती नदीमा जाने गरेका कारण नदीले बगाउनेमा स्थानीयवासीमा चिन्ता थपिएको छ । खानेपानी ओसार्न र नुहाउनका लागि बालबालिका सेती नदीमा दिनहुँ जाने भएकाले प्रत्येक वर्ष नदीमा डुबेर तथा बगेर मृत्यु हुने गरेको छ । रासस