कैलालीमा अविरल वर्षापछि करिब एक साता पुग्नै लागेका बेला क्षतीको पूर्ण विवरण संकलन हुन सकेको छैन्। कैलालीका चार स्थानीय तहमा बाढीले बढी क्षती गरेको भएपनि विवरण भने अझै संकलन हुन नसकेको हो। जिल्लामा कति परिवार पूर्ण विस्थापित भए, कति घर डुवानमा परे र कति घर फर्किए भन्ने बारे एकिन तथ्याङ्क कुनै पनि निकायसंग छैन्।
स्थानीय तहहरु विवरण संकलन र राहत वितरण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय ढुक्क भएको छ भने स्थानीय तहलाई संकलनमा नै हम्मे हम्मे परेको छ। जसका कारण बाढी पीडितहरु चाउँचाउँ र चिउरामा रात कटाउन बाध्य भएका छन्। कैलालीको टीकापुर तपेन्द्र रावलले भने, ‘क्षतीको पूर्ण विवरण संकलनको काम जारी छ। सकिएको छैन्। राहतमा मेस सञ्चालन गरेर खाना खुवाउँदै छौँ। केही संघ/संस्थाहरुले राहत ल्याउँदैछन्। प्रदेश तथा संघ सरकारबाट भने सहयोग आएको छैन्।’
कैलालीको पूर्वी–दक्षीण क्षेत्रमा बाढी पसेको तीन दिन हुँदा पनि क्षतीको पूर्ण विवरण संकलनको काम नसकिएको हो। हजारौँ घरपरिवार बिस्थापित भएको भनिएको छ। तर पूर्ण क्षती, आशिंक क्षती र सामान्य क्षतीको विवरण संकलन नभएको हो। प्रत्येक स्थानीय तहमा हजार भन्दा बढि परिवार विस्थापित भएको अनुमान गरिएको छ। तर बाढी प्रभावित कुनै पनि स्थानीय तहले विवरण संकलनको काम नसकिएको जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले बताए। ‘६ सय बढी विस्थापित भएका छन्। तर पूर्ण विवरण संकलनको काम जारी छ।’ उनले भने। स्थानीय तहहहरुले क्षतीको विवरण संकलनमा ढिलाई गरेपछि राहत वितरणको काम समेत सुरु भएको छैन्। बाढी पीडितलाई चाउचाउ र चिउरा वितरण गरिएको छ भने केही स्थानीय तहले खानाका लागि मेस समेत सञ्चालन गरेका छन्।
तर बिस्थापित परिवारलाई पुनःस्थापना र राहत वितरणका काम सुरु भएको छैन्। भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले दुई हजार चार सय बढि परिवारमा क्षती भएको बताए। एक हजार ६ सय परिवार बिस्थापित भएको तथ्याँक रहेको उनले जानकारी दिए। शनिबार मात्र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र प्रमुख प्रहरी उपरिक्षक अनुपम समशेर जवरा सहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर फर्किएको थियो। तर क्षतीको विवरण संकलन, राहत वितरण तथा बाढी पीडितहरुको पुनः स्थापनाको पूर्ण जिम्मेवारी स्थनीय तहलाई दिइएको छ। जिल्ला विपद व्यवस्थापन समितिले पनि स्थानीय विपद व्यवस्थापन समितिलाई राहत पठाउने भएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले तथ्यांक संकलनको काम पूर्ण नभएको बताए। उनले तथ्यांक संकलनमा ढिलाई हुँदा राहत वितरणमा पनि समस्या भएको बताए। उनले भजनी नगरपालिका क्षेत्रमा बाढीको बढि प्रभाव देखिएको बताए। ‘भजनी नगरपालिका र जानकी गाउँपालिका क्षेत्रमा बढि प्रभावीत भएको देखियो। टीकापुरको पूर्वी दक्षीणी क्षेत्र पनि प्रभावित छ। केहि क्षेत्रमा पानी अझै कम भएको छैन्। राहत वितरणमा पनि समस्या छ।’ उनले भने। जिल्लामा बढीका कारण तीन जनाको मृत्यु भएको पुष्टि भईसकेको छ।