पूर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको चिसापानीदेखी अत्तरीया सडक खण्ड जीर्ण बनेको छ। राजमार्गअन्तरगत कैलाली खण्ड मर्मतको काम झण्डै पाँच महिनादेखि ठप्प हुँदा सडक जिर्ण बन्दै गएको हो। सडक खण्डको ८० किलोमिटर क्षेत्रमा सयौं ठाउँमा खाल्डा परेका छन्। अत्तरिया, मुडा, सुख्खड, मसुरीया, राजिपुर लगायतका ठाउँको सडकको अवस्था अझ धेरै दयनीय छ। चैत ११ गतेदेखि सुरु भएको लकडाउन खुलेसंगै राजमार्गमा सवारी साधन गुड्ने क्रम पनि बढेको छ। तर ठाउँ–ठाउँमा परेका खाल्डाखुल्डीले आवातजावात गर्न मुस्किल हुने गरेको छ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले तीन वर्षका लागि नियमित सडक मर्मत गर्न कालिका जोशी जेभीलाई ठेक्का दिएको थियो। तर गत चैतको पहिलो साता केही स्थानमा मर्मतको काम भएपनि त्यसपछि राजमार्ग मर्मतको काम पुनः सुरु नभएको निर्माण कम्पनीका संञ्चालक गणेशदत्त जोशीले बताए। ‘अहिले बर्खाको समय छ। यो अवधीमा कालोपत्रे सहितको मर्मत गर्न सकिन्न’, उनले भने, ‘राजमार्ग मर्मतको काम भदौँदेखि मात्र सुरु हुन्छ।’ नियमित रुपमा सडक मर्मत गर्नका लागि १५ करोड ९० लाख बढीमा ठेक्का सम्झौता गरिएको छ।
निर्माण कम्पनीले तीन वर्ष सम्म सडकमा परेका खाल्डाखुल्डी मर्मत गर्ने लगायतका काम गर्नु पर्ने भएपनि नियमित रुपमा मर्मतको काम हुन नसकेको हो। सडक मर्मतका लागि आवश्यक अधिकासं मजदुर प्रदेश वाहिर तथा भारतमा रहेका कारण अहिले काम गर्न नसकिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बमले बताए। ‘सडक मर्मतको काम गर्ने मजदुर ९० प्रतिशत भन्द बढी भारतका छन्’, उनले भने, ‘बर्खा लागेको छ। अब कालोपत्रे सहितको सम्पूर्ण मर्मतको काम साउनको अन्तिम सातापछि मात्रै हुन्छ।’
बढ्यो सडक दुर्घटना
पूर्वपश्चिम राजमार्ग जीर्ण बन्दै गएपछि कैलालीमा सडक दुर्घटना समेत बढेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार गत चैत्र महिनादेखि जिल्लामा सडक दुर्घटनाका कारण २२ जनाले ज्यान गुमाएका छन्। कैलालीमा सडक दुर्घटनामा परी गत वर्षको असारदेखि फागुनसम्म ६९ जनाले ज्यान गुमाएका थिए भने लकडाउनकै अवधिमा थप २२ जनाले ज्यान गुमाएका हुन्। जिल्लामा हुने दुर्घटना मध्ये झण्डै ७० प्रतिशत दुर्घटना पूर्वपश्चिम राजमार्गमा हुने गरेका छन्।