धनगढीमा थप कोरोना प्रयोगशाला स्थापना, दैनिक हजार स्वाब जाँच हुने
2020/08/04, 11:31
 
Korona

कोरोना परीक्षणका लागि धनगढीमा थप एउटा प्रयोगशाला स्थापना गरिएको छ। सेती प्रादेशिक अस्पतालले सञ्चालन गर्ने गरी स्वास्थ्य कार्यालय कैलालीमा प्रयोगशला स्थापना गरीएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले प्रयोगशालामा पीसीआर मेसिनसहितका उपकरण जडानको काम सकिएको बताए।

‘प्रयोगशालामा उपकरण जडानको काम सकिएको छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘पर्सीदेखि परीक्षण सुरु हुन्छ।’ सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले पनि जडानको काम सकिएको बताउँदै भने, ‘मेसिनको भ्यालिडेसन भईरहेको छ। पर्सीदेखि सञ्चालन हुन्छ।’

धनगढीको पशुपक्षी अन्वेषण प्रयोगशालामा परीक्षण गरिएका स्वाबको नयाँ स्थापना गरिएको प्रयोगशालामा पुनः परीक्षण भईरहेको उनले बताए। ‘आवश्यक जनशक्तिको व्यवस्थापन भए नयाँ स्थापना गरिएको प्रयोगशाला मार्फत दैनिक एक हजार स्वाब पनि परीक्षण गर्न सकिने छ।’ शाहीले दिनेश खवरलाई भने। 

प्रदेश मन्त्रीपरिषद्को निर्णय अनुसार धनगढीमा थप प्रयोगशाला स्थापना भएको हो। चैत १५ गते बसेको मन्त्रीपरिषद्को बैठकले धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो।

डोटी र बैतडीमा समेत प्रयोगशाला स्थापनाको कार्य भईरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। अहिले सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा र धनगढीमा एउटा/एउटा प्रयोगशाला मार्फत कोरोना परीक्षण भईरहेको छ। डडेल्धुराको प्रयोगशाला जनस्तरबाट रकम संकलन गरेर स्थापना गरिएको हो भने धनगढीको प्रयोगशाला संघीय सरकारले स्थापना गरेको हो।