क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी, चौकीदार र भान्छेलाई कोरोना संक्रमण
2020/08/04, 6:56
 
corona

कैलालीको कैलारी गाउँपालिका स्थित क्वारेन्टिनमा कार्यरत एक जना स्वास्थ्यकर्मी सहित चौकीदार र भान्छे कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । वडा नम्बर १ को हसुलिया स्थित दिपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा कार्यरत एक÷एक जना स्वास्थ्यकर्मी, चौकीदार र भान्छेलाई मङ्गलबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । विद्यालयको क्वारेन्टिनमा कार्यरत ल्याबको काम गर्ने एक जना स्वास्थ्यकर्मी, विद्यालयको चौकीदार र क्वारेन्टिनमा बसेकाहरुका लागि खाना पकाउने व्यक्तिलाई कोरोना सङ्क्रमण भएको गाउँपालिकाका स्वास्थ्य संयोजक विरेन्द्र सापकोटाले जानकारी दिए । 

स्वास्थ्यकर्मी सहित क्वारेन्टिनमा काम गर्ने व्यक्तिहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको ‘कन्टयाक्ट’ मा आएका कर्मचारी, परिवारका सदस्य र अन्य स्थानीयको पनि स्वाब परीक्षणका लागि संकलन गरिने जनाइएको छ । ‘सङ्क्रमितको कन्ट्याक्टमा आएका कर्मचारीसहित सम्पूर्णको स्वाब संकलन गरी परीक्षणका लागि पठाउँछौं’,  सापकोटाले भने । उनका अनुसार संक्रमित पुष्टि भएका स्वास्थ्यकर्मी एकदिन घर पनि गएका छन् । यसैगरी, उनको सम्पर्कमा केही स्थानीय व्यक्ति पनि आएका छन् । आइसोलेसनमा राखिएका सम्पूर्ण सङ्क्रमितलाई निको बनाएर घर पठाएपछि अन्त्यमा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य संयोजक सापकोटाले बताए ।  

‘हसुलिया स्थित आईसोलेसनमा रहेका सङ्क्रमितलाई हिजो मात्रै निको बनाएर घर पठाउने कार्य भएको थियो’, उनले भने–‘अरु सङ्क्रमितको रिपोर्ट निगेटिभ बनाउँदा बनाउँदै हाम्रै कर्मचारीको रिपोर्ट पोजेटिभ आयो ।’ सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मी सहितकालाई हसुलियाको दिपेन्द्र मावि स्थित आइसोलेसनमा राखेको सापकोटाले जनाए । कैलारी गाउँपालिकामा मङ्गलबार सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये चार जना संक्रमितको ‘ट्राभेल हिस्ट्री’ भने अन्यत्रबाट काम गरेर आएको रहेको छ ।  उनीहरु बैजपुर स्थित क्वारेन्टिनमा थिए । संक्रमित ती व्यक्ती विभिन्न वडाका रहेका सापकोटाले जानकारी दिए ।