कैलालीको भजनी नगरपालिका–८, जनकपुरका ११ वर्षीय स्केल चौधरी सधैँ झैं साउन १४ गते पनि बाजेको पसलमा थिए । अघिल्लो रातिबाटै वर्षा निरन्तर भइरहेको थियो । वस्तीहरू डुबिरहेका थिए । घडीले बिहानको करिब ११ बजाउँदै थियो । बाजेलाई स्केलले आफ्नो घर जान्छु भने । वस्तीहरू डुबानमा परेकाले बाजेले ‘पानी परिहेको बेला यस्तो बेला नजा’ भने । तर, स्केलले मानेनन ।
उनलाई के थाहा, त्यो दिन नै उनका लागि अन्तिम हुन्छ भन्ने । सधैँ आउजाउ गर्ने उनलाई बाढीले बगाउला भन्ने लागेकै थिएन । तर, वस्ती पसेको पथरैया र काँडा नदीको बाढीले उनलाई आफूसँगै बगाएर लग्यो । स्केल बगेको स्थानीयवासीले हेरिरहे । स्थानीय युवाले ट्रयाक्टरको ट्युब लिएर बचाउन नखोजेका होइनन् । तर, सो क्षेत्रसम्म पुग्नै गाह्रो प¥यो। उनीहरूलाई लाग्छ, मोटर बोट भएको भए स्केलको ज्यान बचाउन सकिन्थ्यो ।
त्यही दिन सोनाफाटाका ईश्वर शाह र चक्रबहादुर विकलाई पनि बाढीले बगायो । “मोटर बोट भएको भए उनीहरूलाई बचाउन सकिन्थ्यो,” नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले भने, “हामी त्यहीँ थियौं, उनीहरू बगेको देखे पनि बचाउन सकेनौं ।” जनकपुर र सोनाफाटा बाढीको जोखिमयुक्त क्षेत्र हो । हरेक वर्षझैं बाढी वस्ती पसेर बितण्डा मच्चाउने गरेको छ । बाढी आउनु पूर्व साउन ११ गते पूर्व तयारी भन्दै विश्व खाद्य कार्यक्रमले जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत् नेपाली सेना र सशस्त्र प्रहरीलाई दुइ रदुई थान मोटरबोट दिएको थियो ।
तर, मोटरबोट भने बाढी प्रभावित क्षेत्रमा पुगेन । डब्ल्यूएफपीका सुदूरपश्चिम प्रमुख रविन्द्र चन्द गत बिहीबार बाढी पीडित क्षेत्रको अवलोकन गर्न जाँदा मोटर बोट नदेखेपछि उनले यसबारे जानकारी मागेका थिए । त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीको एक एक वटा मोटरबोट सो स्थानमा पुगेको थियो । चन्दलाई मोटरबोट बाढीपीडित क्षेत्रमा नै रहेको भनेर गलत सूचना दिइएको थियो ।
स्थानीयवासीले मोटरबोट भएको भए कसैको ज्यान नजाने भन्दै आक्रोश पनि पोखेका थिए । जिल्ला दैवी प्रकोप उद्धार समिति अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरालाई सो स्थानमा पानी कम भएकाले मोटरबोट चलाउन नसकिने भन्दै सुरक्षा निकायले जानकारी गराएका थिए । “मैले जानकारी माग्दा पानी कम भएकाले उक्त स्थानमा मोटरबोट चलाउन नसकिने जानकारी दिइएको थियो,” उनले भने ।