शेरवहादुर ऐर- सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकामा वन अतिक्रमण अझै नियन्त्रण हुन सकेको छैन। चार महिनाअघि हटाइएका घर टहरा सो क्षेत्रमा पुनर्निर्माण हुने क्रम बढेको छ। गोदावरी नगरपालिकाको गाइमारा डाँडामा नौ महिनाअघि तीन वटा टहरा थिए। तीनवटै टहरालाई डिभिजन वन कार्यालयको सहयोगमा इलाका वन कार्यालय गोदावरीले हटाएको थियो। दुई पटक टहरा भत्काउँदा दुई वटामात्र टहरा बाँकी थिए।
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ मा लकडाउन जारी गरेपछि कैलालीमा काठ तस्करीसँगै वन अतिक्रमण बढेको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ। कार्यालय प्रमुख रामचन्द्र कँडेलले भने, ‘गोदावरी क्षेत्रमा वन अतिक्रमणसंगै काठ तस्करी पनि ह्वात्तै बढ्यो।’ उनले अतिक्रमण जति हटाउँदा पनि सफल नभएको बताए। उनले भने, ‘पटक–पटक हटाइरहेका छौं, तर पुनः सोही ठाउँमा आएर बसिहाल्छन्।’ उनले स्थानीय प्रशासनसँगको समन्वयमा वन अतिक्रमणमा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरिने बताए।
पहाडदेखि यात्रा गर्ने यात्रुले शौचका लागि प्रयोग गर्ने डाँडा थियो ‘गाइमारा डाँडा ।’ सुरुमा व्यापारका लागि गाइमारा डाँडाको केही भाग काटेर एक स्थानीय वनकर्मीले प्रयोग गरे। विस्तारै दुई वटा टहरा थपिए। थपिने क्रम बढ्दै गएपछि वन कार्यालयले हटाएको थियो। तर, पुनः लकडाउन खुलेसँगै अहिले सो डाँडाको अर्को भागतिर एउटा अर्को टहरा निर्माण गरिएको छ।
सडक किनारमा बसेकाहरू पछिल्लो समयमा सामुदायिक वनको सिमाना मिच्दै अगाडि बढिरहेको स्थानीय यज्ञबहादुर रावल बताउछन्। ‘सामुदायिक वन र राष्ट्रिय वनभित्रै पसेर वन माफियाहरूले अतिक्रमण गरी घर टहरा बनाइसके’ उनले भने, ‘यहाँ रातारात टहरा निर्माण भइरहेका छन्।’ धनगढी–डडेल्धुरा सडक खण्डको गाईमारा क्षेत्रमा पनि व्यापक वन फडानी भएको बताउदै उनले ‘सडक किनारमा टहरा राखेर बसेका केही व्यक्तिले तलतिर खोरिया फडानी गरिसकेको’ बताए । खोरिया फडानी भएसँगै यहाँ बस्ती बसाउने चलखेल भइरहेको उनले बताए।
जंगल किनारमा बसेकाहरूले आफूसँगै आफना नजिकका नातेदारलाई ल्याएर वनको सिमाना मिच्दै जमिन बढाउने गरेको उनी बताउँछन्। उनले भने, ‘टहरोमात्रै बनाएकाहरूले खुर्सानी तथा सागपात लगाउने भन्दै जंगलको सिमाना मिच्दै जमिन अगाडि बढाउन थालेका छन्।’ कैलालीको गोदावरी क्षेत्रमा मात्र नभई राजमार्गको छेउछाउमा अहिले डाँडा काटेर टहरा तथा खोका निर्माण गर्ने क्रम बढेको छ चुरे गाउँपालिकाका र ५ का वडाध्यक्ष तथा प्रवक्ता नरबहादुर तामाङले राजमार्ग क्षेत्र अतिक्रमण गर्ने क्रम बढेको बताए । उनले भने, ‘तपाईंलाई यो कुरा भने वन अतिक्रमणलाई राम्रो भन्यो भन्नुहोला, तर पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेपछि मानिस सुरक्षित स्थान खोज्न सडक छेउछाउमै आएर अतिक्रमण गरेर बस्दै छन्।’
उनले वन अतिक्रमणको मुख्य कारण नै बाढी तथा पहिरो रहेको बताए । सुदूरपश्चिम प्रदेश सरकारले २०७५ साल असोज १२ गते तेघरी गोदावरीको जंगलमा प्रदेशको राजधानी तोकेपछि वनमाफियाहरूले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण गर्ने क्रम बढेको बताइन्छ। गत असार महिनापछि यो क्षेत्र अतिक्रमणको उच्च चपेटामा परेको छ। हिजोआज राजधानी स्थल तोकिएको तेघरी जंगलनजिकै रहेको हनुमान मन्दिर क्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधीगडा, भ्यागुत्तेपानी, बासपानी, गाईमारा क्षेत्र उच्च अतिक्रमणको चपेटामा परेका छन्।
यो क्षेत्रमा बाढी पीडित तथा सुकुम्बासीका नाममा जंगल छेउमा बस्दै आएकाहरू पछिल्लो समय सिमाना मिच्दै जमिन बढाउन थालेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको तेघरी जंगलमा राजधानी बनाउने घोषणा गरेसँगै जंगल किनारमा बस्दै आएकाहरू सामुदायिक तथा राष्ट्रिय वनको सिमाना मिच्दै जमिन बढाउन थालेका छन्् । विभिन्न वनमाफियाहरू आफू तथा आफन्तलाई लिएर वन क्षेत्रभित्रै टहरा बनाउन थालेका छन्। अहिले आएर सामुदायिक वनको सीमा मिच्दै अतिक्रमण गर्नेहरू राजनीतिक दलका मतदाता भएको उल्लेख गर्दै स्थानीय रामचन्द्र अवस्थीले भने, ‘राजनीतिक दल, सामुदायिक वनका अध्यक्ष लगायतको मिलेमतोमा नै बाढीपीडित र सुकुम्बासीका नाममा वन अतिक्रमण भइरहेको छ ।’
उनले भने, ‘बाढीपीडित, सुकुम्बासीका नाममा राजनीतिक दलको संरक्षणमा जंगल किनारमा बसेकाहरूले दैनिक वन क्षेत्र मिच्दै जग्गा बढाउन थालेका छन््। अत्तरिया क्षेत्रमा त झनै वन क्षेत्र अतिक्रमण भइरहेको छ ।’ डिभिजन वन कार्यालय धनगढीका अनुसार कैलालीमा अहिलेसम्म २१ हजार एक सय ५४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ भने त्यसको २१ प्रतिशत वन क्षेत्र कैलालीमा मात्रै अतिक्रमण भएको छ। यो तथ्यांकले देशभरकै सबैभन्दा बढी कैलाली जिल्लामा वन क्षेत्र अतिक्रमण भएको देखिन्छ।