डुबानको आलो घाउ नमेटिदैं विभिन्न ठाउँ कटानको चपेटामाः स्थानीय भन्छन्–‘एकतर्फी बाँधले झनै समस्या’
2020/08/05, 1:48
 
duban

बाढी डुबानको आलो घाउ नमेटिदैं कैलालीका भजनी नगरपालिकाका विभिन्न ठाउँ कटानको चपेटामा परेको छ । वडा नम्बर ८ स्थित छछ्रहुवा, बहादुरपुर, जनकपुर, दैलेखी टोल र भर्थान टोलतर्फ पथरैया नदीले कटान थालेको हो । नदीमा पानी घटेपछि तीव्र रुपमा जमिन कटान भइरहेको जनकपुरका स्थानीय प्रकाश साउँदले बताए । ‘नदीले खेतीयोग्य जमिन पनि कटान गरिरहेको छ’, उनले भने । ‘खेतमा लगाएको धानबाली कटान हुन थालेपछि थप समस्या भएको छ ।’ साउँदका अनुसार सो क्षेत्रमा पथरैया नदीले २०६० सालबाट जमिन कटान गर्न सुरु गरेको हो ।

कटान, पटान समस्याका कारण कतिपय घर परिवार भजनी छोडेर टीकापुर, लम्की लगायतका बजारमा बसाइँ सरेको उनले बताए । पथरैया नदीको पश्चिम किनारा भजनी र पूर्व किनारा टीकापुर नगरपालिकामा पर्दछ । रानी कुलरिया जमराले टीकापुर नगरपालिका तर्फ पथरैया नदीमा तटबन्ध सहितको ड्याम बनाएपछि डुबान र कटान समस्या झनै बल्झिएको स्थानीयवासी बताउँछन् । ‘पथरैया नदीले भजनीतर्फ कटान गर्नुको मुख्य कारण रानी जमराको एकतर्फी बाँध हो’, स्थानीय जयप्रसाद ढुङ्गानाले भने । ‘एकातिर मात्रै बाँध बनाइएकाले उता जान नपाएको पानी पनि भजनीतिरै आउने गर्दछ ।’ 
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सौतेलो व्यवहारका कारण भजनी नगरपालिका–८ मा समस्या भएको स्थानीयको बुझाइ छ । पथरैया नदीको पूर्वी किनारमा तटबन्ध सहितको ड्याम बनाइएको छ । जसले गर्दा टीकापुर नगरपालिका–७ लगायतको क्षेत्रलाई धेरै समस्या भोग्नु परेको छैन । तर, भजनी नगरपालिकामा पर्ने पश्चिम किनारामा सो संरचना नबनाइएकाले समस्या भोग्नु परेको स्थानीयले बताएका छन् । 

बाँध नभएका कारण ओभर फ्लो भएको पथरैयाको सबै पानी भजनीतिर आउने गरेको साउँदले बताए । भजनी नगरपालिका तर्फ पनि तटबन्ध सहितको ड्याम बनाउनका लागि गत आर्थिक वर्षमा रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग सम्झौता भएको जनाइएको छ । तर, सम्झौता भए पनि काम नभएको सो योजनाका संयोजक समेत रहेका भर्थान टोलका उत्तम साउँदले बताए । ‘टीकापुर नगरपालिकातिर ड्याम बन्यो, हाम्रोतिर बनेन’, उनले भने । ‘हाम्रोतिर के कति कारणले नबनेको हो, त्यो विषयबारे केही जानकारी भएको छैन ।’ आयोजनाले अब बन्छ, अब बन्छ भन्दाभन्दै साउन लागेको र साउनमा बाढी विपद् आएको साउदले बताए । विपद् व्यवस्थापन टोल विकास समितिका अध्यक्ष समेत रहेका साउदले आफूहरु बाढीको उच्च जोखिममा रहेको उल्लेख गरे । ‘२०६० बाटै, कटान, पटान, डुबान समस्या झेलिरहेका छौं’, उनले भने । ‘यी समस्याको दीर्घकालीन समाधानको उपाय खोजिएन भने हामी कसरी बाँच्ने ?’ 

बाढीले गर्ने कटान, पटान र डुबान समस्या समाधानका लागि पथरैया नदीमा तटबन्ध सहितको ड्याम निर्माण गर्न आवश्यक रहेको स्थानीयको जोड छ । तर, त्यतिले मात्रै पूर्ण रुपमा समस्या समाधान नहुने बताईएको छ । हुलाकी राजमार्ग र भजनीबाट ४६ किलोमिटरको दूरीमा भारतले घाघरा नदीमा बनाएको कैलाशपुरी बाँध डुबानको मुख्य कारक रहेको स्थानीय बताउँछन् । ‘यी दुवैको कारणले पानीको सहज निकास हुँदैन’, प्रकाशले भने । ‘हुलाकी सडकमा आकाशे पुल बनाउन जरुरी छ ।’ गएको बुधबार बाढी आउँदा भजनी नगरपालिका सहित जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिका जलमग्न भएको थियो । 

स्थानीयले २०४० सालकोभन्दा पनि ठूलो बाढी आएको बताएका छन् । बाढीले छ हजारभन्दा बढी घर परिवार प्रभावित भएका थिए । भने, धन सम्पत्तिको ठूलो क्षति भएको छ । बाढीले बगाउँदा तीन जनाको ज्यानसमेत गएको थियो । भजनीमा मोहना, पथरैया, काँढा र कान्द्रा नदीले समस्या गर्दै आएको छ ।  यसैबीच, गएको बुधबार आएको बाढीले धान खेतीमा ठूलो क्षति गरेको छ । बाढीले लहलहाँदो धानलाई सोत्तर पारेको स्थानीयले जानकारी दिएका छन् । बाढी डुबान समस्या भएकै कारण भजनी नगरपालिका लगायत डुबान क्षेत्रका कतिपय किसानले चैते धानको खेती गर्दै आएका छन् । तर, टीकापुर लगायत भजनीको वडा नम्बर ७, ८, ६ २ लगायतमा बर्खे धानको खेती पनि गर्ने गरिएको छ । बाढीले किसानको धान सबै सखाप पारेको ढुंगानाले जनाए ।