सवारी साधनमा जोरबिजोर प्रणाली सुदूरपश्चिममा कैलालीमा मात्रै
2020/08/06, 7:18
 
corona

कोरोना संक्रमितको संख्या बढ्दै गएर समुदायस्तरमै महामारी बढ्ने जोखिम बढेपछि सरकारले आजदेखि सवारीसाधनमा पुनस् जोरबिजोर प्रणाली लागू गरेको छ। गृह मन्त्रालयले बुधवार एक सूचना निकालेर जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने जनाएको छ।

सवारीसाधनमा लगाइएको जोरबिजोरको नियम काठमाडौं उपत्यका र दुई सय बढी सक्रिय कोरोना संक्रमित भएको जिल्लामा लागू हुनेछ। सुदूरपश्चिम प्रदेशमा दुई सय भन्दा बढि एक्टिभ केस अर्थात सक्रिय संक्रमित भने कैलाली जिल्लामा मात्रै रहेका छन्। सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयले बुधवार सार्वजनिक गरेको तथ्याङक अनुसार कैलालीमा ६ सय ७० संक्रिय संक्रमित छन् भने ६ सय ४२ संक्रमित डिस्चार्ज भईसकेका छन्। चार जनाको भने मृत्यु भएको छ।

गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार सुदूरपश्चिममा जोरबिजोर प्रणाली कैलालीमा मात्रै लागु हुनेछ। कैलालीका सहरी क्षेत्रमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन पनि बन्द रहनेछ। स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीपछि सबैभन्दा बढि संक्रिय संक्रमित बझाङ जिल्लामा छन्। बझाङमा एक सय ७४ संक्रमित संक्रमित छन् भने एक सय सात जना डिस्चार्ज भईसकेका छन्।

दुई जना संक्रमितको मृत्यु भईसकेको छ। अछाममा एक सय ६०, डोटीमा पनि एक सय ६०, कञ्चनपुरमा ७७, डडेल्धुरामा ३४, दार्चुलामा २५, बैतडीमा १९ र बाजुरा जिल्लामा १८ संक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। कोरोना भाइरस संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि ११ चैतदेखि लागू गरिएको लकडाउन संक्रमण दर घटेको ठहरसहित ७ साउनबाट हटाइएको थियो।

त्योसँगै सुदूरपश्चिम प्रदेशमा पनि छोटो दूरीका सार्वजनिक सवारी, बजार व्यवसाय पनि खुलेको थियो। तर, सार्वजनिक स्थलहरूमा पुनः भीड बढ्न थालेको र सर्वसाधारणले कोभिड–१९ को जोखिमलाई बेवास्ता गरेकोले समुदायस्तरमै संक्रमण फैलिनसक्ने भन्दै पुनः लकडाउन गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।