बाजुराको बुढीनन्दा नगरपालिका –१ साउँने गाउँ अहिले सम्मपनि सञ्जालसँग जोडिन सकेको छैन्। साविकको जगन्नाथ गाविसको वडा नं ९ साउँनेगाँउ गाविसमा हुँदा विकासका हिसाबले राज्यबाट उपेक्षित नै रहेको थियो। तर संघीय संरचना पश्चात पनि उक्त गाउँमा सरकारको आँखा गएको छैन।
साउनेगाँउ–पिपलडाली जोड्ने पुलका लागि गाविस हुँदा गाउँपरिषद्, इलाका परिषद् हुँदै जिल्ला परिषद्मा २ पटक पास हुँदा पनि पुल बन्न नसकेको स्थानीय लक्ष्मण जोशीले बताए। सासंद लालबहादुर थापाको पहलमा उक्त स्थानमा डिटेल सर्वे भएपनि यो वर्षको योजनामा अटाएन।
धुलाचौर–मार्तडी मुल सडकसँग प्रत्येक गाउँ जोडिदा साउँनेगाँउ जोडिन सकेको छैन। पिलुचौरदेखि दानसाँगुसम्म जोड्ने पुल पिलुचौर–भारतीकौषाडी, हरिकवल–पार्ताेला, लाटुबस्ति–पाइन, दैयाँ—डुडिखुच्चा, कालसिल–कोल्टी र खोया–अल्स्याबाडी जोड्ने पुल बनिरहँदा साउनेगाँउ–पिपलडाली जोडने पुल बन्न नसक्नु बिडम्वना रहेको स्थानीयले बताएका छन्। पुल नहुँदा कोल्टीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई प्रत्येकदिन आवतजावतमा समस्या भइरहेको छ।
पुल बनेमा १५ मिनेटमा वडा कार्यालय र गाडीको सेवा लिन सकिने स्थानीय बताँउछन्। पुल बनाउनकै लागि गाउँलेले सरकारी कार्यालयमा कागजी पहल र राजनीतिक दलका नेताहरूलाई अनुरोध गरेपनि त्यसले अहिलेसम्म सार्थकता पाउन सकेको छैन्।