कोरोना संक्रमितहरुको उपचार गर्नका लागि धनगढी उप–महानगरपालिकाले प्रदेशमै नमुना आईसोलेशन बनाएको छ । धनगढीले महिला संक्रमितहरुका लागि छुट्टै १२ सैयाको आईसोलेशन बनाएर संचालनमा ल्याएको छ । पुरुष र अन्य संक्रमितका लागि वडा नं १५ मा ६८ सैयाको अलग्गै आईसोलेशन बनाएको छ । त्यसैगरी प्रदेशका ८८ वटै स्थानीयतहबाट उपचारका लागि धनगढी आउने गर्भवती, सुत्केरीकोलाई राख्नका लागि १० सैयाको होल्डिङ सेन्टर पनि बनाएको छ । महिला आईसोलेशन र होल्डिङ सेन्टर वडा नम्बर १ मा संचालन गरेको छ ।
‘धनगढी उप–महानगरपालिकाकाले संचालनमा ल्याएको आइसोलशनमा आवश्यक सबै उपकरण, स्वास्थ्यकर्मीहरुको ब्यबस्था गरेका छौं’ प्रमुख नृपबहादुर वडले भने, ‘आवश्यकता अनुसार अझै ब्यबस्थीत बनाउदै लगिने छ ।’ धनगढी उप–महानगरपालिका प्रदेशकै हव हो नगरप्रमुख वडले भने, त्यसैले पनि आईसोलेशनमा आवश्यकता अनुसार बेडहरुको संख्या थप गर्दै लगिने छ । उप–महानगरपालिकाले महिला होल्डिङ्ग र आईसोलेशनमा बालबालिकाहरुका लागि खेलौना,खेलकुद सामाग्री, कितावहरुको पनि ब्यबस्था गरेको छ । त्यसैगरी महिलाका लागि आवश्यक पर्ने सेनेटरी प्याड लगायतको ब्यबस्थता गरिएको छ । आइसोलेशनको सुरक्षा महिला सुरक्षाकर्मीहरुबाट नै गर्ने ब्यबस्था मिलाईएको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बताईन ।
धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा अधिकृत लक्ष्मीराज उपाध्यायले अहिले पुरुष आईसोलेशनमा १३ जना संक्रमितहरु रहेको बताए । त्यसैगरी महिला आईसोलेशनमा ८ जना रहेका छन् । धनगढी उप–महानगरपालिकामा १ सय २८ जना संक्रमितहरु घर फर्किसकेका छन् । यहाँ १ जनाको मृत्यू भएको छ भने २ जनालाई उपचारका लागि काठमाण्डौ पठाईएको छ ।
आईसोलेशनका लागि आवश्यक सामाग्री हस्तान्तरण
धनगढी उप–महानगरपालिकाले संचालनमा ल्याएको आईसोलेशनलाई बिहिबार आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । जर्मन राजदुतावासको साझेदारीमा नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाद्धारा संचालित कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत आईसोलेशनलाई आवश्यक सामाग्री हस्तान्तरण गरेको हो । नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका सभापती उत्तम जोशीले १५ थान बेड (म्याट्रेस सहित) , पिपिई सेट १०, नेबुलाईजर १० थान, मास्क ५० प्याकेट, ग्लोब्स ५० प्याकेट, सेनेटरी प्याड ८० प्याकेट लगायत आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्री नगर प्रमुख नृपबहादुर वडको रहोबरमा उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण प्रसाद बराललाई हस्तान्तरण गरिएको हो ।
नगरप्रमुख नृपबहादुर वडले आईसोलशन संचालनका लागि सहयोग गर्ने जर्मन राजदुताबासको साझेदारीमा नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखा प्रति आभार ब्यक्त गरे । दाताहरु र मनकारीहरुको सहयोगले असहज अवस्था पनि काम गर्न सहज भएको छ नगरप्रमुख वडले भने, यसरी नै सहयोगको अपेक्षा गर्दछौं । नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका सभापती उत्तम जोशीले कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत सहयोग गरिएको बताए । उनले भने, आवश्यकता अनुसार सहयोग गरिने छ ।