ब्यापार सुकेपछि दार्चुला जोड्ने पुल नियमति खोल्न भारतीय व्यवसायीको माग
2020/08/07, 12:08
 
corona

भारतको धार्चुलाका व्यापारीहरुले नेपाल भारत जोड्ने पुल नियमित रुपमा खोल्न माग गरेका छन् । भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिललाई बुधबार ज्ञापन पत्र दिदै नेपाल भारत जोड्ने पुल नियमित रुपमा खोल्न माग गरेका हुन् । भारतको धार्चुला बजारका ग्राहकहरु नेपाली भएकाले कोरोना प्रभावले सिमा सिल हुदाँ धार्चुलाको ब्यापार निकै ओरालो लागेको छ । नेपालीहरुको सामान किनमेल गर्न भिडभाड हुने धार्चुला बजार हाल ग्राहक नहुदा कयौ पसलहरु बन्द रहेका छन् ।

नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल बन्द हुदाँ आफुहरुको ब्यापार न्युन हुन थालेपछि भारतीय ब्यापारीहरुले पुल नियमित खोल्न माग गरेका छन् । धार्चुलाका ब्यापारीहरुले घुमाउरो भाषामा नेपाल भारत जोड्ने पुल खोल्न माग गरेका छन् । गत साउन १९ गते रक्षा बन्धनका दिन नेपाल भारत जोड्ने पुल खोल्न भन्दै भारत तर्फ नागरिकहरुको भिड लागेको थियो । नेपाली प्रशासनले पुल बेलुका खोलेपछि भारतीय ब्यापारीहरुले नेपाल भारत जोड्ने पुल खोलेमा नियमित खोल्नुपर्ने नत्र पुर्ण रुपमा पुल सिल गर्नुपर्ने भन्दै धार्चुला तहशिलमा ज्ञापन पत्र बुझाएका छन् ।

धार्चुलाका उपजिल्ला अधिकारी अनिल कुमार शुक्लाले पत्र संख्या ७ सय ७० मा पिथौरागढ जिल्ला अधिकारीलाई पत्र लेख्दै पुल खोल्ने वा पुर्ण सिल गर्ने विषयमा दिशा निर्देश गर्न अनुरोध गरेका छन् । रक्षा बन्धनमा प्रयोग हुने धागोहरु समेत ठूलो परिणाममा विगतमा भारतीय बजार बाटै आयात हुने गरेको थियो । रक्षा बन्धनको दिन पुल लामो समय खुलेमा राम्रै ब्यापार हुने आसमा रहेका भारतीय ब्यापारीहरु पुल नखोलीदा आक्रोसित बनेका छन् ।