दार्चुलाका आठ स्थानीय तहबाट स्वाब संकलन गरिँदै
2020/08/07, 4:17
 
swab

दार्चुलाका स्थानीय तहमा कोरोना परीक्षणका लागि पुनः स्वाब संकलन गर्न थालिएको छ। बिहिबार जिल्लाका ८ स्थानीय तहबाट स्वाब संकलन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। 

जिल्लामा गत शुक्रबार १६ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुका आफन्त र सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड –१९ सम्पर्क व्यक्ति बिरेन्द्रप्रसाद भट्टले बताए। जिल्लाभरी झण्डै २ सय ९५ जनाको स्वाब संकलन गर्ने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, मार्मा गाउँपालिका, व्यासँ गाउँपालिका, नौगाड गाउँपालिका र दुहुँ गाउँपालिकाका क्वारेन्टिन तथा होमक्वारेन्टिमा रहेकाहरुको स्वाब संकलन भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। 

८ वटै स्थानीयमा गरिएको स्वाबलाई सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा पठाइने जनाएको छ। जिल्लामा हालसम्म ४३ जनामा कोरोना पुष्टि भइसकेको छ।