स्वास्थ्य कार्यालय धनगढीमा स्थापना गरिएको प्रयोगशाला मार्फत पनि कोरोना परीक्षण सुरु भएको छ। सेती प्रादेशिक अस्पतालले सञ्चालन गर्ने गरी स्वास्थ्य कार्यालय कैलालीमा स्थापना गरिएको प्रयोगशला मार्फत परीक्षण सुरु भएको हो। बिहिवारदेखि परीक्षण सुरु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार उक्त प्रयोगशाला मार्फत परीक्षण गरिएका दुई सय ९४ जनाको रिपोर्ट आएका छन्। ‘दुई सय ९१ जनाको रिपोर्ट नेगेटिभ छ भने तीन जनाको पोजेटिभ आएको छ।’ सूचना अधिकारी श्रेष्ठले दिनेश खवरलाई भने।
सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले धनगढीको पशुपक्षी अन्वेषण प्रयोगशाला र स्वास्थ्य कार्यालयमा स्थापना गरिएको पीसीआर मेसिन मार्फत कोरोना परीक्षण भईरहेको बताए। ‘आवश्यक जनशक्तिको व्यवस्थापन भए नयाँ स्थापना गरिएको प्रयोगशाला मार्फत दैनिक एक हजार स्वाब पनि परीक्षण गर्न सकिन्छ,’ उनले भने, ‘आवश्यक जनशक्ति नहुँदा अहिले दैनिक चार देखि ५ सयको परीक्षण गरिरहेका छौ।’
प्रदेश मन्त्रीपरिषद्को निर्णय अनुसार धनगढीमा थप प्रयोगशाला स्थापना भएको हो। चैत १५ गते बसेको मन्त्रीपरिषद्को बैठकले धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। डोटी र बैतडीमा समेत प्रयोगशाला स्थापनाको कार्य भईरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।