कैलालीको जोशीपुर गाउँपालिका ३ भितरियाका अर्जुन चौधरी एक सातादेखि चाउचाउको भरमा छन् । एक साता अहिले आएको बाढीले खाद्यन अन्नबाली नष्ट गरि दिएपछि उनी चाउचाउको भरमा भोक मारिरहेका छन् । ‘सुरुको २ दिन त भोकै बसे’ उनले भने ‘खाने केही थिएन के खानु ?’ पानी कम भएपछि उनी अहिले घर फर्किएका छन् । तर घर भने बाढीले क्षति पुराएको छ ।
भजनी ८ सोनाफाटा की देवी चौधरीको पनि अवस्था त्यस्तै छ । अचानक आएको बाढीमा उनले केही जोगाउन पाइनन् । ‘ज्यानै जोगाउन कठिन भयो । अरू त के जोगाउनु’ उनले भनिन् । उनी परिवार सहित हुलाकी सडकमै रात काटिरहेकी छन्। ‘सबै आ–आफ्नो घर गए हामी भने सडक छेउमै बस्नु परेको छ’ उनले भनिन ‘केही दिन त चाउचाउ बिस्कुट खायौँ अब के खाने ?’
भजनी ८ की शारदादेवी चौधरीलाई पनि उनको जस्तै चिन्ता छ । आठ दिनसम्म चाउचाउ र चिउरा खाएर बसेकी उनी अब तथ समस्या आउने बताउँछिन् । उनले भनिन ‘दुई÷तीन बिगा धान लगाएका थियौ सबै धान सुकिहालो अव के खाने ?’ भजनी ८ गोरचौराहाका पुनाराम चौधरीलाई पनि खानबस्नको लागी निकै ठुलो समस्या आइपरेको छ । उनीहरू पानीले भिजेको धान र गहुँ कुटाएर खाइरहेका छन् ।घरभित्र बाढी पसेपछि चार जनाको परिवार अहिले पनि सडकमै बस्दै आइरहेका छन् ।
टिकापुर नगरपालिका ७ वैदीडाडा टोलीकी रमा साँउदको घर पनि बाढीले डुबेको थियो । पानी कम हुँदै गए पनि उनी घर फर्किन सकेकी छैनन् । अरूले त ओत लाग्ने केही पाए उनले त्यो पनि पाइनन् । ‘अहिले सम्म तिरपाल नपाउँदा खुल्ला आकाश मुनी बस्न बाध्य छौ’ उनले भनिन्, ‘चाउचाउ र बिस्कुटले भोक मारिरहेका छौँ ।’ १४ साउनमा आएको बाढी गाउँ पसेपछि कैलालीमा ६ हजार बढी घरहरू चुवानमा परेका थिए । हजारौँ नागरिक केही दिन विस्थापित भए । अहिले अधिकांश व्यक्ति घर फर्किएपछि केही भने अझै सम्म पनि सडक र विद्यालयमा बस्न बाध्य छन् । यो अवधिमा उद्धारमा चासो देखिएका निकायहरूले राहात वितरणमा उदासीन बन्दा उनीहरू थप समस्यामा परेका हुन् ।
प्रदेश सभा सदस्यहरूको जम्बो टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावल र प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको हो । टोलीले नदी व्यवस्थापनमा चुक्दा बाढी गाउँ पस्ने गरेको ठहर गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य कृष्ण चौधरीले कैलालीको दक्षिणी क्षेत्रमा सधैँ डुबान कटानको समस्या रहेको बताए । कैलाली क्षेत्र नम्बर १ को क बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले प्रत्येक वर्ष आफ्नो क्षेत्र पनि चुवानमा पर्ने गरेको बताए दीर्घकालीन रूपले काँडा नदीमा तटबन्ध गर्न सकियो भन्ने जोशीपुर ,भजनीका जनताले ठुलो राहत पाउने उनको बुझाइ छ । ‘तत्कालको लागी प्रदेश सरकारले केही समाधान गदिनु पर्छ’ उनले भने ‘दीर्घकालीन रूपमा समस्या समाधान गर्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्नुपर्छ ।’
सुदूरपश्चिम प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले काँडा नदीको बाध फुट्दा जोशीपुर, भजनी लगायतका डुबान पर्ने गरेको बताए । ‘प्रदेश सरकारले स्थानीय तह सँगै समन्वय गरेर दिगो रूपमा बाधको व्यवस्थापन गर्नुपर्छ’ उनी भन्छन् ‘समयमै तटबन्ध गरिएन भन्ने फेरि नदीले खेतीयोग्य जमिन समेत मरुभूमिमा परिणत नगर्ला भन्न सकिन्न ।’ सुदूरपश्चिम प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्क बहादुर कुँवरले नदी नियन्त्रण आवश्यक रहेको बताए । ‘गतिलो तटबन्ध नहुँदा समस्या भएको देखियो’ उनले भने ‘नदी कटान रोक्न तटबन्ध गर्न सरकारलाई निर्देशन दिन्छौँ ।’