कैलालीमा कोरोना भाईरसका २३० संक्रिय संक्रमित
2020/08/08, 8:40
 
Korona

सुदूरपश्चिममा सबैभन्दा बढि कोरोना संक्रमित रहेको कैलालीमा संक्रमण मुक्त हुनेको संख्या एक हजार ९९ पुगेको छ। सामाजिक विकास मन्त्रालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार जिल्लामा एक हजार ९० संक्रमित निको भएर घर फर्किएका हुन्।

शुक्रवार दुई सय २२ जनालाई डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए। मन्त्रालयका अनुसार जिल्लामा एक हजार तीन सय ३३ जना संक्रमित रहेकोमा अव ‘एक्टिभ केस’ अर्थात संक्रिय संक्रमित भने दुई सय ३० मात्रै रहेका छन्।

एक्टिभ केसको संख्या दुई सय भन्दा बढि भएकाले जिल्लामा जोरबिजोर प्रणाली लागु गरिएको छ भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ।

यस्तै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या तीन हजार नौँ सय ३८ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार डोटीका पाँच सय ७०, कञ्चनपुरका पाँच सय १७, बैतडीका तीन सय चार र डडेल्धुराका दुई सय ८८ जनालाई डिस्चार्ज गरिएको छ।

बाजुराबाट चार सय ३१, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।