कैलालीको कैलारी गाउँपालिकामा सङ्क्रमित कर्मचारीको सम्पर्कमा आएका ८४ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका गाउँपालिकाका कर्मचारीसहित सङ्क्रमित कर्मचारीको परिवारका व्यक्ति लगायतको रिपोर्ट नेगेटिभ आएको हो । हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा खटेका सो गाउँपालिकाका एक कर्मचारीसहित विद्यालयको चौकीदार र क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका १५९ जना व्यक्तिको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो । जसमध्ये पहिलो चरणमा ८४ जनाको रिपोर्ट आएको र सबै नेगेटिभ रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक वीरेन्द्र सापकोटाले जानकारी दिए ।
७५ जनाको रिपोर्ट आउन बाँकी रहेको र १०÷१५ जनाको स्वाब संकलन गर्न बाँकी रहेको उनले जनाएका छन् । ‘बैंकका कर्मचारीको स्वाब संकलन गर्न बाँकी छ’, सापकोटाले भने । ‘बाँकी व्यक्तिहरुका आइतबार स्वाब संकलन गरिन्छ ।’
कर्मचारी समेतमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सो गाउँपालिकामा गएको बुधबारदेखि लकडाउन गरिएको छ । सङ्क्रमित व्यक्तिका सम्पर्कमा आएका सबै व्यक्तिको परीक्षण रिपोर्ट नेगेटिभ आएमा बन्दाबन्दी खुकुलो हुन सक्ने सापकोटाले जनाए ।