बाजुरामा टोल शिक्षा दिन पठाइएका शिक्षक इसाई धर्म प्रचारमा व्यस्त
2020/08/08, 3:43
 
dharma

बाजुराको सदरमुकाममा रहेको मालिका उच्च माध्यमिक विद्यालयका एक जना शिक्षकलाई टोल शिक्षा दिन पठाइएको भएपनि उनी धर्मको प्रचार गर्दै गाउँ–गाउँ पुग्ने गरेको पाइएको छ। शिक्षक प्रमोद नेपाललाई टोलमा विद्यार्थीहरूलाई अध्यापन गराउन भनी विद्यालयले पठाएको भएपनि उनले बाइबल किताब र गितार भिरेर धर्मको प्रचार गर्दै गाउँ डुल्ने गरेको अभिभावकहरूले बताएका छन्।

कोरोना भाइरसले गर्दा आर्थिक वर्षको ५ महिना विद्यालयहरु बन्द भएको अवस्थामा विद्यालयले उनलाई टोलमा पठाएको थियो। तर उनले भने पेशाको मर्यादा बाहिर गएर धर्म प्रचार गरेकाे भन्दै अभिभावकहरूले आपत्ति जनाएका छन्। सदरमुकाम नजिकै रहेको बडीमालिका नगरपालिका वडा –७ सिराडीमा २ जना इसाई धर्मालम्बीहरुसँग मिली शिक्षक प्रमोदले लकडाउनको मौका छोपेर गाँउका बालबालिकालाई धर्मको प्रचार गर्दै आइरहेका छन्। ती दुवै जना बालकृष्ण खड्का र राजु बिकले आफ्नो धर्मको बारेमा ५० भन्दा बढि बालबालिकाहरुलाई प्रचार गराइरहेको स्विकार गरेका छन्।

उक्त विषयमा मालिका माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिर्घराज पाध्यायले केही दिनमा बैठक बसेर छलफल गर्ने बताएका छन्। उनले धर्मको प्रचार गरेको पुष्टि भए ती शिक्षकलाई निष्काशन गर्नसकिने बताए। विद्यालय समयमा नियम बाहिर गएर कुनै कार्य गरेको भए कारबाही गरिने उनको भनाई छ। शिक्षक प्रमोद नेपाल काठमाडौं निवासी हुन। उनी निजी शिक्षकको रूपमा मालिकामा अध्यापन गराउदै आएका छन्। उनले बालबालिकालाई श्रममा समेत लगाउने गुनासो गरिएको छ।