धनगढीमा दैनिक ८ सय कोरोनाको नमुना जाँच गर्न सक्ने पिसिआर मेसिन जडान गरिए पनि जनशक्ती अभावका कारण पर्याप्त परीक्षण गर्न सकिएको छैन । अहिले दुवै पिसिआर मेसिन आफूहरूले नै सञ्चालन गरिरहेको सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले बताए ।
उनले भने, ‘बिहीबारबाट धनगढीमा दैनिक ८ सय नमुना परीक्षण गर्न सक्ने क्षमताको अर्को पिसिआर मेसिन जडान सम्पन्न भई सञ्चालनमा आए सकेको छ । तर आवश्यक जनशक्ति छैन । अहिले आफू लगायत पुरानै १० जनाको जनशक्तिले दुवै मेसिन सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’ उनले थपे, ‘२ सहयोगी गरी अलिले हामी प्रयोगशालामा १० जना छौ । यो एउटा मेसिनका लागी पर्याप्त हो । तर अर्को मेसिनका लागि थप १० जना अरू जनशक्ति आवश्यक पर्छ ।’
धनगढीको पशुपक्षी अन्वेषण केन्द्रमा रहेको मेसिनमा नमुना जाँच गरिएका जनशक्तिहरूलाई नै अहिले दुवै प्रयोगशालामा खटाइएको छ । जिल्ला जन स्वास्थ्य कार्यालयको भवनमा नयाँ जडानगरीएको मेसिनका लागी १० जना जनशक्ति आवश्यक परे पनि व्यवस्थापनको भने कुनै टुंङगो छैन । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले मेसिन सञ्चालनमा आए सँगै परीक्षणको दर बढेको बताए । उनले भने,‘नयाँ जडान भएको मेसिन अत्याधुनिक हो । यसले दैनिक ८ सय नमुना परीक्षणको क्षमता छ । तर अहिले जनशक्ति अभावले दैनिक २ सय देखी ३ सयको हाराहारीमा मात्रै नमुना परीक्षण भइरहेको छ ।’
धनगढीमा मेसिन सञ्चालनमा आइसकेको र डोटी र बैतडीमा मेसिन जडानको काम सुरु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कर्मचारी व्यवस्थापनको जिम्मा सम्बन्धित अस्पतालको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । उनले भने, ‘हामीले परीक्षणको दायरा बढाउन नयाँ मेसिन जडान गरेका छौ । अव त्यसलाई सञ्चालन गर्ने जिम्मा अस्पतालको हो । जनशक्ति व्यवस्थापन पनि अस्पताल प्रशासनले गर्छ । अस्पतालले सकेन भने फेरि हाम्रो दायित्व हो । त्यसपछि व्यवस्थापनको काम हामी गर्छौ ।’
मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ती व्यवस्थापनका लागी सेती प्रादेशिक अस्पतालले कुनै प्रक्रिया सुरु गरेको छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले यस विषयमा कुनै प्रतिक्रिया दिएनन् ।