अविरल बर्षाका कारण भएको डुबानले खाद्यान्न र धानबाली नष्ट
2020/08/08, 5:52
 
badi

अघिल्लो साताको बुधबार अविरल वर्षापछि कैलालीको भजनीका बस्तीमा बाढी पसेर २ हजारभन्दा बढी परिवारका घर डुबे । एक साता बित्दा पनि पानीको सतह नघटेर ती घर डुबिरहे । एक्कासी बाढी आउँदा हतार हतार भागेर ज्यान जोगाएका उनीहरूले धान, चामल, गहुँलगायत खाद्यान्न लान भ्याएनन । भण्डारण गरिएको खाद्यान्न नष्ट भयो । लामो डुबानले खेतको धानमा पनि पूर्ण रूपमा क्षति पुग्यो । पानीको सतह घटिसक्दा पनि भजनीवासी खुसी हुन सकिरहेका छैनन् ।  

अहिले मात्र होईन, आगामी वर्ष पनि कसरी परिवार बाच्ने भन्ने समस्या सिर्जना भएको भजनी–८ सोनाफाँटाकी देवी चौधरीले बताइन् । ‘बाढीले घर पनि भत्काएको छ,’ उनले भनिन्, ‘अब कहाँ बस्ने भन्ने चिन्ता पनि थपिएको छ ।’ सोही वडा स्थित गोड्चौराका पुनाराम चौधरीको घर पुरै भत्किएको छ । पानी जमिरहँदा भण्डारण गरिएको धान खान अयोग्य भएको छ । ‘एक साता डुबान हुँदा घरभित्रका सरसमान पनि नष्ट भएका छन्,’ उनले भने, ‘६ जनाको परिवार छ । पैसाको जोहो कसरी गर्ने ? अब भोकमरी हुने भयो ।’

गोड्चौराकै गोपीराम चौधरीले अढाई बिघा जमिनमा लगाएको धानबाली पुरै नष्ट भएको छ । ‘जीविकोपार्जनको आधार यही धानखेती थियो, बाढीले पुरै नष्ट गरिदियो ।’ उनले दुःखेसो व्यक्त गरे । सोही गाउँकी सविता चौधरी एक साताको सडकबासपछि घर फर्किन् तर खुसी हुन सकिनन । घरमा पुगेको क्षतिले उनलाई झन् पीडा भयो । ‘भण्डारण गरिएको धान, गहँु, तोरी सबै बाढीले बगायो ।’ उनले भनिन्, ‘अब खानका लागी केही बाँकी रहेन ।’ उनको पनि खेतबारीमा लगाएको धान सबै नष्ट भएको छ ।

अघिल्लो साताको बुधबार आएको बाढीले भजनी–२, ३, ५, ६, ७ र ८ मा घर र खेतबारी डुबानमा परेका थिए । भजनीको कृषि शाखा प्रमुख कमल चौधरीले नगरपालिकाभित्र ३ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती नष्ट भएको बताए । बाढीले खेतसमेत कटान गरेको छ तर धेरै क्षति भने पानी जमेर भएको उनको भनाइ छ । क्षतिको विस्तृत विवरण संकलन भइरहेको उनले बताए । पथरैया नदी तटबन्ध भत्काएर गाउँमा पस्दा भजनी–८ का दैलेखी टोल, कुसमघाट, कृष्णनगर, गोडचौरा, खैरा, जनकपुर, बहादुरपुर, काडाढिक र सोनाहफाटा गाउँ डुबानमा परेका थिए भने काडा नदी पनि ढुसीमा तटबन्ध भत्काएर बस्तीमा पसेको थियो ।

डुबानपछि विस्थापित भएका भजनीवासी एक साता हुलाकी सडक लगायतमा बसे । अधिकांशले चाउचाउ र चिउराकै भरमा दिन उक्त अवधि गुजारे । पानीको सतह घटेपछि प्रायः परिवार घर फर्केका छन । घर फर्के पनि बाढीले पुर्याएको क्षतीले उनीहरूको बिजोग भएको छ । बाढी र डुबानका कारण तीनजनाको ज्यान गएको थियो । ज्यान जानेमा भजनी–८ का ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र विक र ११ वर्षीय स्केल चौधरी हुन् ।

भजनी लगायत क्षेत्रमा बर्सेनी बाढीले डुबान हुने गर्छ । बाढीको पूर्वतयारी, बाढीपछि उद्धार र बाढी पीडितको समस्या समाधानका लागि दिगो व्यवस्थापनमा सरकारले ध्यान नदिएको स्थानीयको गुनासो छ । ‘हामीले सधैं वर्षातमा यही समस्या भोग्दै आएका छौं, दिगो समाधानको योजना ल्याउन माग गर्दागर्दा थाकिसक्यौं,’ स्थानीय सुमेन्द्रबहादुर चौधरीले भने, ‘दिगो समाधानको योजना ल्याएर सधैका लागि हाम्रो समस्याको अन्त्य गरियोस् ।’