बाढीले हुलाकी सडक भत्काउँदा आवागमन अवरुद्ध, ७ किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा क्षति
2020/08/09, 2:47
 
hulaki

१४ साउनमा आएको बाढीले हुलाकी सडक भत्काउँदा आवागमनमा समस्या भएको छ । भजनी नगरपालिकाको थेकीपुरदेखि सोनाफाँटासम्म आधा दर्जन ठाउँमा बाढीले सडक नै बगाइदिएपछि आवागमन ठप्प भएको हो । भजनीका स्थानीय पदम साउदले हुलाकी सडक भएर टीकापुर पुग्न आधा घण्टा मात्रै लाग्नेमा अहिले जोशीपुर भएर टीकापुर जान एक घण्टा लाग्ने बताए ।  

कतिपय स्थानीयले भने जोखिम मोलेरै भएपनि हुलाकी सडक प्रयोग गरेर आवातजावत गरिरहेको बताउँदै साउदले कुनैपनि बेला दुर्घटनामा पर्न सक्ने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका साइट इन्जिनियर मोहनचन्द्र हमालले वर्षा भइरहेका कारण सडक मर्मतमा समस्या भएको बताए ।

3

उनका अनुसार थेकीपुरदेखि सोनाफाँटासम्मको करिब ७ किलोमीटर एरियाको आधा दर्जन ठाउँमा बाढीले सडक नै बगाएको बताउँदै निर्माण कार्य सुरू गर्न लागिएको छ । डाइभर्सन गरेर सडक बनाउनुपर्ने भएकोले वर्षाका कारण अवरोध भएको हमालको भनाइ छ ।

डबल लेन बन्दै हुलाकी सडक 
धनगढीको क्याम्पस रोडदेखि टीकापुरको सत्तीसम्मको ६२ किलोमिटर हुलाकी सडक डबल लेनको हुने भएको छ । क्याम्पस रोडदेखि मनेहरासम्मको साढे ३ किलोमिटर सडक भने चार लेनको हुनेछ । चार प्याकेजमा टेन्डरमार्फत बनाइन लागेको हुलाकी सडकको क्याम्पस रोडदेखि थेकिपुरसम्मको तीन खण्डको स्वच्छन्द जोशी निर्माण सेवा र थेकिपुरदेखि सत्तीसम्मको निर्माणको काम कालिका जोशीले पाएको इन्जिनियर हमालले जानकारी दिए ।