दार्चुलाको खार खलंगा सडक खण्डको डुङगरी र काटै क्षेत्रमा सडक अवरुद्ध भएसँगै नौगाडमा खाद्यान्नको मूल्य आकाशिएको छ। सडक नहुँदा भाडा महंगो भएपछि नौगाडमा खाद्यान्नको मूल्य आकाशिएको हो। खार–खलंगा र गोकुलेश्वर–धुलीगडा हुँदै खार–खलंगा जोड्ने सडक दुवैतर्फ अवरुद्ध भएपछि नौगाडमा खाद्यान्नको मूल्य आकाशिएको हो।
‘सदरमुकाम खलंगामै मोटो चामलको मूल्य बढेपछि गाउँ पुर्याउँदा झनै महंगो भएको छ’ खारका स्थानीय गगन मन्यालले भने, ‘अहिले गाउँमा मोटो चामल ७२ रुपैयाँ प्रतिकिलो खानु परेको छ। यस्तै सदरमुकाम खलंगामा ९ रुपैयाँ प्रतिकिलो पाइने आयोडिन नुनको मूल्य ३० देखि ४० रुपैयाँ पुगेको छ।’
खलंगामै मोटो चामल ५० किलोग्रामको २ हजार ६५० रुपैयाँ पर्न थालेको छ। भाडा लगाउँदा गाउँ पुग्दा त्यो मुल्य झन महंगो भएको हो। बाटो छैन्, पिठ्युमै बोकेर गाउँसम्म ल्याउँदा चामल र नुनको मूल्य बढेको मन्यालले बताए। ‘गाउँमै खानेतेल २३० रुपैयाँ पर्छ। तरकारी विक्री गरेको रुपैयाँले खाद्यान्न खानै समस्या भएको छ’ अर्का स्थानीय धनसिँह सितोलीले भने, ‘यो पटक गाउँमा तरकारीमा असिनाले क्षति गर्यो। खेतीबाली पनि असिनाले नै नष्ट गर्यो अब कसरी किन्नेहोला।’ गाउँमा खाद्यान्नको मूल्य छोईनसक्नु भएको र अहिलेको अवस्था रह्यो भने गाउँमा खाद्य संकट निम्तिने उनले बताए।
नौगाड मात्र हैन, दार्चुलाको व्यास क्षेत्रमासमेत खाद्यान्न अभाव हँुदैगएको छ। नेपाल खाद्य संस्थानको सुनसेरा डिपोको लागि आएको चामल सडक अवरुद्ध हुँदा सुनसेराम्म ढुवानी हुन नसकेपछि व्यासमा खाद्यान्न अभाव हुन थालेको हो। ‘गाउँमा चामल पाउनै मुस्किल भएको छ’ व्यास ३ का वडाअध्यक्ष उपेन्द्रसिह धामीले भने, ‘अहिले आलु उत्पादन भएको कारण स्थानीय आलु खाएर बस्न बाध्य छन्।’ यस्तै व्यापारिक चामल समेत कालो बजारी हुन थालेकाले स्थानीयले चामल पाउन सक्ने अवस्था नरहेको धामीले बताए। सडकअवरुद्ध भएपछि उक्त क्षेत्रमा खाद्यान्न तथा नुन अभाव हुन थालेको उनले बताए।
व्यास गाउँपालिका २ मा पनि चामल पाउनै छोडेको स्थानीय दानसिह कार्कीले बताए। ‘गल्थासम्म आउँदा ६० रुपैयाँ प्रतिकिलो मोटो चामल त्यहिपर्छ’ उनले भने, ‘माल पुर्याउनसम्म ढुवानी जोड्दा ८० रुपैयाँ प्रतिकिलो खानुपर्ने बाध्यता छ। सुनसेरादेखि मालसम्म पुग्ने बाटो अवरुद्ध छ। ठाउँ ठाउँमा पहिरो गएको कारण खाद्यान्न लिन पनि निकै जोखिम छ।’ पछिल्लो समय खाद्य संस्थानको चामल ढुवानी नभएपछि स्थानीयले महंगो मूल्य हालेर गाउँमा खाद्यान्न खान बाध्य भएका हुन।