बाढीले कैलालीमा साढे ४ हजार हेक्टर जमिनको धानबाली नष्ट
2020/08/09, 4:13
 
dhan

१४ साउनमा आएको बाढीले कैलालीमा चार हजारदेखि चार हजार ५०० हेक्टर जमिनमा लगाएको धानबाली पूर्ण रूपमा नोक्सान भएको छ । करिब दुई हजार ५०० हेक्टर धानबाली भने आंशिक रूपमा क्षति भएको अनुमान गरिएको छ ।  क्षेत्रीय कृषि निर्देशनालय दिपायलका अनुसार कैलालीमा मात्रै ७१ हजार ७१५ हेक्टर क्षेत्रफलमा धानखेति हुने गरेको छ । 

आम्दानीको मुख्य श्रोतनै बाढीले नरहेपछि भोकमरी हुने चिन्तामा किसानहरू छन् । कैलालीको भजनी नगरपालिका ३ धुसीका मधु भण्डारीको चार बिगाहा क्षेत्रफलमा लगाएको धानबाली पूर्ण रूपमा नोक्सान भएको छ । धेरै दिन पानी जमेका कारण धानबाली पुर्णरूपमा खेतमै कुहिएर गन्हाउन थालेको भण्डारीले बताइन् । उनले चैते धान समेत पानीले नोक्सान गरेपछि अब के खाने भन्ने चिन्ताले सताउन थालेको पीडा सुनाइन ।  

त्यस्तै धुसीकै  सिताराम चौधरीको ८ बिगाहा क्षेत्रफलमा लगाएको धान समेत बाढीका कारण खेतमै कुहिएको छ। पहिला पनि बाढी आउने तर पानी बगेर जाने भएका कारण धान खेती राम्रो हुने गरेको बताउँदै  चौधरीले अहिले त हप्तौ दिनसम्म पानी खेतमै जमेका कारण धानबाली कामै नलाग्ने भएको बताए । भजनी ३ कै अर्का किसान हेमेन्द्र भारद्वाजले आफूले लगाएको करिब ३५ बिगाहा धानबाली पूर्ण रूपमा नोक्सान भएको बताए ।

उनले हिउँदे बाली समेत पानीले नोक्सानी गरेका कारण भोकमरी निम्त्याउने निश्चित रहेको बताउँदै राज्यले किसानहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे । करिब २२० घरधुरी रहेको धुसिमा ९० प्रतिशत धानबाली कामै नलाग्ने गरि खेतमै कुहिएको किसानहरूले बताएका छ । धुसिकै बिरसिंह चौधरी, बिन्तिराम चौधरी, हरिदेवी ज्ञवाली, खुशिराम चौधरी, बलवन्त सिंह सरदार, जितबहादुर चौधरी लगायत दर्जनौं किसानका सयौ बिगाहा धानबाली पूर्ण रूपमा नोक्सानी भएको वडा नम्बर ३ का अध्यक्ष बिक्रम चौधरीले बताए ।

बाढीले भजनी नगरपालिकाको वडा नम्बर ८ मा समेत सयौं बिगाह धानबाली नोक्सानी भएको छ । भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले किसानहरूको नोक्सानीको विवरण संकलन गर्ने काम भइरहेको बताए । घरवारविहीन र बाढीले नोक्सानी पु¥याएका नगरपालिकाका बासिन्दाहरुलाई विभिन्न निकाय र पालिका आफैंले खाद्यान्न लगायतका राहत वितरणक गरिएको उनको भनाइ छ ।