कैलारी गाउँपालिकाका कर्मचारी सहित पाँच जनाले जिते कोरोना
2020/08/09, 5:11
 
corona

कैलालीको कैलारी गाउँपालिकाका कर्मचारीसहित पाँच जनाले १२ दिनमा कोरोना जितेका छन् । गाउँपालिकामा कार्यरत ल्याब टेक्निसियन, दीपेन्द्र माध्यमिक विद्यालयका चौकीदार र क्वारेन्टाइनमा खाना पकाउने कामदारले १२ दिनमा कोरोना जितेका हुन । यसैगरी, कोरोना जित्नेमा भारतबाट फर्केका दुई जना स्थानीय व्यक्ति पनि रहेका छन् ।  

साउन १३ गते उहाँहरु सबैको स्वाब नमूना सङ्कलन गरिएको थियो । २० गते स्वाब परीक्षणको रिपोर्ट आएको थियो । सङ्क्रमित सात जनामध्ये निको हुनु भएका स्वास्थ्यकर्मीसहित पाँच जनालाई आइतबार घर पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले जानकारी दिए । उनले अब दुई जनालेमात्रै कोरोना जित्न बाँकी रहेको उल्लेख गरे । 

यसैबीच, सङ्क्रमित भएका स्वास्थ्यकर्मी लगायतका व्यक्तिको सम्पर्कमा आएका १५२ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक्ट ट्रेसिङ गरिएको ८४ जनाको परीक्षण रिपोर्ट शुक्रबार आएको थियो । ६८ जनाको रिपोर्ट आइतबार आएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका बैंकका ११ जना कर्मचारीसहित क्वारेन्टाइनमा रहेका व्यक्ति र क्वारेन्टाइन नजिकका समुदायको गरी ७० जनाको स्वाब नमूना परीक्षणको आज लागि पठाइएको सापकोटाले जानकारी दिए ।  

सो गाउँपालिकामा कर्मचारीसहितका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोकथाम र नियन्त्रणका लागि साउन २१ गतेदेखि गाउँपालिकामा बन्दाबन्दी जारी गरिएको थियो । पाँच जना सङ्क्रमित निको भइसकेका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको रिपोर्ट नेगेटिभ आएकाले बन्दाबन्दीलाई खुकुलो गरिने गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए ।

‘सोमबार विहान सर्वपक्षीय बैठक बोलाएका छौं’, उनले थपे । ‘थप सुरक्षाका लागि मापदण्ड अनुसारको उपाय अपनाउने र बन्दाबन्दी खुकुलो बनाउने सवालमा बैठकमा छलफल हुनेछ ।’ चाडपर्व नजिकिएसंगै भारतबाट फर्किनेक्रम फेरि बढेकाले थप सुरक्षा सतर्कता अपनाउन आवश्यक रहेको अध्यक्ष चौधरीले जनाए ।

उनले अब विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न नसकिने भएका कारण समुदायिक भवन प्रयोग गर्नका लागि वडा कार्यालयहरुलाई निर्देशन दिएको उल्लेख गरे । ‘विद्यालयलाई अब क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिन्न’, चौधरीले भने । ‘वडामा रहेका सामुदायिक भवनमा क्वारेन्टाइन र आइसोलन बनाउनका लागि सम्पूर्ण वडाहरुलाई पत्र पठाएको छु ।’