माया मेट्रो हस्पिटलमा उपचाररत स्क्रब टाइफस भएकी गर्भवतीलाई कोरोना संक्रमण
2020/08/09, 9:15
 
corona

स्क्रब टाइफस भएकी बैतडीकी एक गर्भवती महिलामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिका ३ की १९ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो । उपचारका लागि डडेल्धुरा अस्पताल पुगेकी ती महिलाको यही साउन २३ गते स्वाब संकलन गरिएकोमा आईतबार कोरोना पुष्टि भएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

अहिले ती महिलाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको छ । स्क्रब टाइफस भएपछि ती महिलालाई अस्पताल पुर्याइएको र उनमा कोरोना समेत पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । संक्रमण पुष्टि भएका ती महिलाको अवस्था सामान्य रहेको महराको भनाई छ । कुनै ट्राभल हिस्ट्री नभएका महिलामा कोरोना पुष्टि भएपछि समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ ।

संक्रमित महिलाका श्रीमानसंगै रहेका उनको धनगढीमै स्वाब संकलन हुनेछ भने अन्य घर परिवारका सदस्यहरुको पनि स्वाब संकलन गरिने स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए ।  ती महिलालाई स्ट्रेचरमा बोकेर सडक सम्म पुर्याउने स्थानीय १५ जनालाई पनि अलगै होम क्वारेन्टाइनमा ७ दिन बस्न आग्रह गरिएको छ भने उनीहरुको पनि ७ पछि स्वाब संकलन गरिने महराले बताए । यसअघि पनि ट्राभल हिस्ट्री नभएका नभएका जिल्लाको पुर्चौडी नगरपालिकाका ३२ बर्षीय एक युवकमा पनि कोरोना पुष्टि भएको थियो ।

आइतबार थप एक जनामा कोरोना पुष्टी भएसंगै बैतडीमा कोरोना संक्रमितको संख्या ३२१ पुगेको छ । ३२१ मध्ये सुर्नया गाउँपालिकाका १२ जना र मेलौलीका १ जना मात्रै आइसोलेसनमा छन् । संक्रमण पुष्टि भएका ३०७ जना भने डिस्चार्ज भईसकेका छन् । डिस्चार्ज हुने अघिकांस १४ दिनसम्म पनि कुनै लक्षण नभएका रहेका छन् । जिल्लामा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन् । यस्तै शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २८, सुर्नया गाउँपालिकाका २६, पाटन नगरपालिकाका २४, पुर्चौंडी नगरपालिकाका ९ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समयमा भने क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै जाँदा कोरोनाको जोखिम बढ्दै गएको छ । हाल जिल्लामा १५१ जना मात्रै क्वारेन्टाइनमा बसिरहेका छन् । भारत तथा अन्य मुलुकबाट जिल्ला भित्रिएकाहरु सिधै घर गएको पाइएकाले कोरोनाको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। कोरोनाको जोखिमबाट बच्नका लागि बाहिरबाट जिल्ला भित्रिएकाहरुले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन गरिएको छ ।