अनुमति बिना खाना पकाउने ग्यास बेच्ने पसललाई १५ हजार रुपैयाँ जरिवाना
2020/08/09, 9:34
 
gass

अनुमति बिना खाना पकाउने ग्यास बिक्री गर्ने एक पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। धनगढी उमहानगरपालिकाको वडा नम्बर ३ बोराडाँडी चोकमा रहेको शिगास किराना पसललाई १५ हजार जरिवाना गराइएको हो। आइतबार बणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त अनुगमन टोलीले अनुमति नलिई खाना पकाउने एलपी ग्यास बिक्री गरिरहेको पाइएकोले १५ हजार जरिवाना गरेको हो।

सो पसललाई मटियारीमा रहेको ग्यास बिक्रेता शुभ समैजी ग्यास सप्लार्यसका सञ्चालक हेमन्ती पालले खुद्रा रुपमा बिक्री गरिरहेको पाइएको बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ। पाललाई लकडाउनमा तोकिएभन्दा बढी मूल्य लिई ग्यास बेचेको अभियोगमा तीन लाख रुपैयाँ जरिवाना गरिएको थियो। ग्याँस बिक्री गर्ने अनुमति लिएको पसलले उपभोक्ताहरुलाई घरसम्मै आपुर्ति गर्न सक्ने भएपनि पसलहरुलाई खुद्रा रुपमा बिक्री गर्न पाइँदैन। यसरी बिक्री गरे नियम अनुसार कारबाही हुने बाणिज्य कार्यालयका प्रमुख कमल पुन मगरले बताए।

एक पटक कारबाहीमा परी जरिवाना तिरेको पसलले पुनः गल्ती दोहोर्‍याएमा पहिलो पटक तिरेको जरिवानाको दोब्बर रकम तिराउन सकिने कानूनी व्यवस्था रहेको कार्यालय प्रमुख पुन मगरले बताए। उनले पालको पसल फेरि अनुगमन गरिने पनि बताए। आइतबार जरिवाना गराइएको शिगास किराना पसल बाणिज्य कार्यालयमा दर्तासमेत छैन। उपमहानगरपालिकामा दर्ता गरिएको सो पसललाई बाणिज्य कार्यालयमा दर्ता गर्न र तोकिएको जरिवाना रकम तिर्न एक हप्ताको समय दिइएको छ। सो पसललाई एक हप्ताभित्र ग्यासका सिलिण्डर हटाउन समेत निर्देशन दिइएको पुनमगरले बताए।

यस्तै वडा नम्बर ३ का अन्य दुई र वडा नम्बर १ का ३ गरी जम्मा ६ वटा पसलमा अनुगमन गरिएकोमा बाँकीमा केही म्याद नाघेका बस्तुहरु फेला परेको र तिनलाई जफत गरिएको समेत पुन मगरले बताए।