स्थानीय तहमा बेथितिः उपभोक्ता समितिको नाम, ठेकेदारबाट काम
2020/08/09, 9:48
 
sadak

लखन चौधरी- कैलालीको कैलारी गाउँपालिका–८ मा कोरोनाको कारण देखाउँदै सडक ‘पानी पीच’ योजना अलपत्र पारियो । वडाको दक्षिण टेंढीदेखि बेनौली पेट्रोल पम्पसम्मको ८५० मिटर ग्राभेल सडकलाई पानी पीच (कालोपत्रे गर्नुपूर्व गर्नुपर्ने स्तरोन्नतीको कार्य) गर्ने भन्दै निर्माण पक्षले बीचबीचमा माटो मात्रै थुपारे । माटो थुपार्नु बाहेकको काम अगाडि बढ्न नसकेपछि सडक हिलाम्मे भई आवतजावत बन्द छ ।

कैलारी गाउँपालिका–८ दक्षिण टेंढीका स्थानीय लक्ष्मण चौधरीले असारमा आएर गरिने विकासले स्थानीयको जनजीवन कष्टकर बनाएको बताए । ‘अरु बेला सुतेर बसे, अन्तिममा आएर कहिले लकडाउन त कहिले पानी प¥योे भनेर बहानाबाजी गर्ने प्रवृत्तिले विकासको काम अलपत्र पारियो । ठूला सवारीसाधनको त कुरै छाडौं, साइकलसम्म चलाउन सकिँदैन यो बाटोमा,’ उनले घरै अगाडि हिलाम्मे सडक देखाउँदे भने ।

1

टेंढीकै अर्का स्थानीय हरिप्रसाद चौधरीले आक्रोश पोख्दै भने, ‘कि त चालु अवस्थामा रहेको सडकलाई बिगार्नुु भएन, कि त बनाउने भए समयमै सम्पन्न गर्नुपथ्र्यो । ठेकेदार र नेताहरू हिँड्ने बाटो हो र यो ? हामी साँझबिहान यहीँ बाटो नहिँडी सुख छैन । जनतालाई कहिले यो, कहिले त्यो बहानामा सास्ती मात्रै दिन्छन् विकासको नाममा ।’ सो सडक कैलारी गाउँपालिका–८ र ६ जोड्ने मुख्य बाटो हो । सो सडकमा पानी पीच गर्न गाउँपालिकाले २० लाख बजेट विनियोजन गरेको थियो तर जारी लकडाउन र असारे झरीको कारण देखाउँदै काम हुन नसक्दा सडक हिलाम्मे भई आवातजावात बन्द भएको हो ।

उपभोक्ता समितिमार्फत सो सडक निर्माणको लागि ठेकेदारलाई निर्माणको जिम्मा लगाइएको थियो तर ठेकेदारले काम नगरेपछि अलपत्र परेको छ । काम नभएपछि रकम भुक्तानी भने नभएको कैलारी गाउँपालिकाले जनाएको छ । वडा नम्बर ८ का वडाध्यक्ष दुखीराम कठरियाले लकडाउनको कारणले काम नभएको बताउँदै वर्षात लगत्तै काम हुुने दाबी गरे ।

गाउँपालिकाले गत आव २०७६÷७७ मा सबै वडालाई नमूना सडक बनाउने भन्दै १० वटा सडकको लागि २० लाख रुपैयाँको दरले २ करोड बजेट विनियोजन गरेको थियो तर अधिकांश सडक निर्माणमा झारा टार्ने काम मात्रै भएको स्थानीयको गुनासो छ । काम गरिएको भनिएको सडक असार नबित्दै भत्किएका छन् । सडक हिलाम्मे हुँदा स्थानीयलाई आवतजावतमा सास्ती भएको छ । गाउँपालिका–६ वनकट्टामा निर्माण गरिएको पानी पीच सडक असार नबित्दै भत्किएपछि स्थानीय आक्रोशित भएका छन् । वनकट्टा गाउँका भलमन्सा रातिराम चौधरी प्राविधिक र ठेकेदारको लापरवाहीले काम गुणस्तरीय नभएको गुनासो पोख्छन् । यति मात्रै होइन, हाल्नुपर्ने ग्राभेल अन्तै हालेपछि सडक हिलाम्मे भएको र पटक–पटक स्थानीय र ठेकेदारबीच लफडा समेत भएको भलमन्सा चौधरीले बताए ।

2
गाउँपालिकाका सब इन्जिनीयर गोविन्द रोकायाका अनुसार वडा नम्बर १ हसुलिया बजारमा नाली निर्माण, वडा नम्बर २ रामपुर, वडा नम्बर ३ भड्री, वडा नम्बर ४ केगाउँ, वडा नम्बर ५ छोट्की पलिया, वडा नम्बर ७ मोहनपुर, वडा नम्बर ९ वनकनरी र कोइलही ताल जोड्ने सडकमा पनि पानी पीचको योजना थियो । तर हसुलिया बजारमा नाली निर्माण योजना बाहेकका योजना भने पूर्णरूपमा सम्पन्न हुन सकेका छैनन् । सबइन्जिनीयर रोकायाले सबै योजनामा ४५ देखि ६० प्रतिशत मात्रै कार्य प्रगति भएको जानकारी दिए । ती सबै योजनाको कामको लागि गाउँपालिकाले उपभोक्ता समितिसँग सम्झौता गरेको थियो तर उपभोक्ता समितिले भने आफू काम नगरी ठेकेदार मार्फत काम गराएको बताइएको छ ।

2
ती १० वटा योजना मात्रै होइन, गाउँपालिकाले ९ वटै वडामा १÷१ वटा सडक कालोपत्रे गर्न प्रतिसडक ३० लाख रुपैयाँको दरले २ करोड ७० लाख बजेट विनियोजन गरेको थियो । ती सबै योजना कार्यान्वयनको लागि पनि उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भएको थियो । ४० लाख बजेट भएको वडा नम्बर २ उजेलीसेमरदेखि बसौटीसम्मको २ किलोमिटर ६०० मिटर सडक, ५० लाख बजेट भएको वडा नम्बर ७ भुइँयाफाँटा सशस्त्र प्रहरी बेस क्याम्पस्थित २ किलोमिटर सडक, २५ लाख बजेट रहेको वडा नम्बर ५ गोबरैयाको १ किलोमिटर सडक योजना निर्माणको लागि पनि उपभोक्ता समितिसँग सम्झौता गरिएको थियो भने वडा नम्बर ८ रामपुरदेखि डम्मारीसम्मको सडकखण्ड निर्माणको लागि ५० लाख र रामपुरमै अर्को सडक निर्माणको लागि ३२ लाख बजेट पनि गाउँपालिकाले उपभोक्ता समितिसँगै सम्झौता गरेको सबइन्जिनीयर रोकायाले बताए ।

नियम–कानून उल्लंघन
सार्वजनिक खरिद नियमावली २०६४ को दफा ९७ अनुसार १ करोडसम्म लागत अनुुमान रहेको योजनाका काम उपभोक्ता समिति अर्थात् लाभग्राही समुुदायबाट गराउन सकिने प्रावधान छ । उपभोक्ता समिति वा लाभग्राही समुदायबाट सञ्चालित हुने निर्माण कार्यमा लोडर, एक्साभेटर, रोलर, डोजर, ग्रेडर विटुमिन डिस्ट्रीब्युटर, विटुमिन ब्वाइलर जस्ता हेभी मेसिन प्रयोग गर्न सकिने छैन भनिएको छ । तर लागत अनुमान तयार गर्दाको समयमा हेभी मेसिन प्रयोग गर्नुपर्ने जटिल प्रकृतिको कार्य भनी उल्लेख भएको रहेछ भने सम्बन्धित प्राविधिकको सिफारिसमा सार्वजनिक निकायबाट सहमति लिई त्यस्तो मशिन प्रयोग गर्न सकिने छ । 

नियमावलीको उपदफा (९)(क) को उपनियम (९) अनुसार को प्रतिबन्धात्मक वाक्यांश विपरीत हेभी मशिन प्रयोग गरेको पाइएमा त्यस्तो उपभोक्ता समिति वा लाभग्राही समुदायसँग भएको सम्झौता रद्द गरिने भनिएको छ । नियमावलीको उपदफा १० अनुसार उपभोक्ता समिति वा लाभग्राही समुदायले पाएको काम आफैंले सम्पन्न गर्नुपर्नेछ र कुनै निर्माण व्यवसायी वा सब–कन्ट्रयाक्टरबाट गराउन सकिने छैन ।

नाम मात्रैको उपभोक्ता समिति
गाउँपालिका अन्तर्गत विकासे योजनामा उपभोक्ता समितिले ठेकेदार मार्फत धमाधम काम गराएको गाउँपालिका स्रोतले बतायो । टेण्डर गर्दा समय लाग्ने र बजेट फ्रीज जाने भएकाले गाउँपालिकाले उपभोक्ता समितिलाई विकासे योजना निर्माणको जिम्मा लगाउँदै आएको छ तर उपभोक्ता समितिहरू भने आफू कामै नगरी ठेकेदारबाट काम गराएर कानूनको धज्जी उडाउँदै आएका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ मा ३० लाखको कालोपत्रे योजना र २० लाखको पानी पीच तथा स्तरोन्नतिको योजनाको काम भने स्थानीय उपभोक्ता समिति आफैंले गरेको बताइएको छ । उपभोक्ता समितिले मशिनरी औजार भाडामा प्रयोग गरेर निर्माण सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ तर बाँकी सबै योजनाको काम उपभोक्ता समितिसँग सम्झौता गरिए पनि ठेकेदारमार्फत भएको छ ।

कुन सडक कुन ठेकेदारले बनाए ?
अलपत्र पारिएको दक्षिण टेंढीदेखि बेनौली पेट्रोल पम्मसम्मको सडक र डम्मारीदेखि रामपुर सडक वडा नम्बर २ र वडा नम्बर १ मा कालोपत्रेको काम पुष्कर भुुसाल सञ्चालक रहेको पुुष्प लक्ष्मी कन्स्ट्रक्सन एण्ड सप्लायर्स मसुरियाले गरेको थियो । वडा नम्बर ७ स्थित भुइँयाफाँटास्थित २५ लाख र अर्को २० लाख बजेट रहेको सडक स्तरोन्नतिको काम सुदर्शन ठाकुर सञ्चालक रहेको ठाकुर कन्स्ट्रक्सनले काम गरेको बताइएको छ । सो कन्स्ट्रक्सनले वडा नम्बर ५ स्थित ५० लाख बजेट रहेको गोबरैया सडक खण्ड, ४० लाख बजेट रहेको वडा नम्बर २ र वडा नम्बर ४ मा समेत कालोपत्रेको काम गरेको पाइएको छ । ठेकेदार कृष्ण चौधरीले वडा नम्बर ६ र ५ मा सडक स्तरोन्नति र कालोपत्रेको गरेका थिए । ठेकेदार प्रकाश सापकोटाले ३५ लाख बजेट रहेको वडा नम्बर २, ३ र ४ जोड्ने बाटो निर्माणमा काम गरेका थिए भने ११ लाख बजेट भएको वडा नम्बर ४ मा सडक स्तरोन्नति र ३० लाख बजेट रहेको वडा नम्बर ९ को कालोपत्रेको काम गरेको बताइएको छ ।

महेश सापकोटा सञ्चालक रहेको दुर्गालक्ष्मी कन्स्ट्रक्सन मसुरियाले २०÷२० लाख बजेट भएको वडा नम्बर ९ स्थित वनकनरी र कोइलही ताल क्षेत्रमा सडक स्तरोन्नतिको काम गरेको थियो भने प्रेम चौधरी सञ्चालक रहेको प्रेम बिल्डर्स सुखडले वडा नम्बर ८ मा ३० लाखमा कालोपत्रेको काम र २० लाख बजेट रहेको वडा नम्बर ३ मुडामा सडक स्तरोन्नतिको काम गरेको थियो । विप्लव निर्माण सेवा देवहरिया मार्फत ठेकेदार अनिल चौधरीले वडा नम्बर ४ मा सडक स्तरोन्नति र वडा नम्बर ३ निमुवाबोझीमा १५ लाख बजेटमा कालोपत्रेको काम गरेको गाउँपालिका स्रोतले बतायो ।

ठेकेदारलाई चिन्दैनौंः अध्यक्ष चौधरी
कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले योजनाको स्थिति र बजेट अनुसार निर्माणको कार्य उपभोक्ता समिति र ठेक्कामार्फत निर्माण कम्पनीबाट गराउँदै आएको बताए तर उपभोक्ता समितिको नाममा ठेकेदारबाट काम भएको भन्ने भनाइको औचित्य नभएको दाबी गरे । गाउँपालिकाले उपभोक्ता समिति बाहेक अन्य पक्षलाई नचिन्ने बताउँदै योजनाको काम प्रविधिक इस्टीमेटमा हुने र कामप्रतिको जिम्मेवारी र दायित्व उपभोक्ता समितिको रहने अध्यक्ष चौधरीले बताए । अधिकांश विकास योजनाको काम उपभोक्ता समिति मार्फत हुँदै आएको छ तर ती समिति पहुँचको आधारमा र बन्द कोठाभित्र गठन हुँदै आएको स्रोतको दाबी छ । (यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)