अविरल वर्षापछि धनगढीका अधिकांश भाग डुबानमा, तीन सय घरमा पानी पस्यो 
2020/08/10, 12:30
 
badi

अविरल बर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश भाग डुबानमा परेका छन् । धनगढी बजारको मूल सडक अन्तर्गतको प्रदेश सभादेखि एलएनचौकसम्मको सडक पुरै जलमग्न भएको छ ।

6

त्यस्तै प्रदेश सभा चौकदेखि पार्कसम्म जोड्ने सडक जलमग्न हँदा आन्तरिक मामिला तथा कानुन मन्त्रालय आवात जावत गर्न कठिनाई भएको छ ।

2

प्रदेश सभा जोड्ने सडक र परिसर पुरै जलमग्न छ । अविरल वर्षाका कारण जलमग्न भएपछि सामाजिक विकास मन्त्रालय जोड्ने सडक पनि अवरुद्ध भएको छ । धनगढी उपहानगरपालिका–१ शिवनगर,  सेतो पुल, वडा नम्बर ७ क्याम्पस रोड, वडा नम्बर १५ कनरीका अधिकांश घरहरु डुबानमा परेका छन्  ।

2

कनरी गाउँमा  खुटिया नदीको पानी पसेपछि बस्ती नै डुवानमा परेको छ । धनगढी–३ बिशालनगर, वडा नम्बर ४ को बसपार्क तथा शिवपुर धाम क्षेत्र पनि जलमग्न भएको छ । नैनादेवी मार्गमा रहेको सशस्त्र प्रहरी बलको ३४ नम्बर गणपनि जलमग्न भएको छ ।

4

धनगढीको क्याम्पस रोड, शिवनगर, एलएनचोक, पार्कचोक, बिशालनगर, मिलनचोक, चौराह, उत्तरबेहडी, चटकपुर लगायतका अधिकासं क्षेत्रमा डुवान भएको छ । बिशालनगरमा झण्डै आधा दर्जन परिवार विस्थापित भएको स्थानीय टेकराज जोशीले बताए । उनले घरमा पानी पसेपछि छिमेकी र आफन्तको घरमा बस्नु परेको बताए ।

6

सबैभन्दा बढी धनगढीको बजार क्षेत्र र वरपर रहेका वडामा डुवान भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले बाढी बस्तीमा पसेपछि झण्डै तीन सय घरमा पानी पसेको बताए ।

2

‘बजार क्षेत्र जलमग्न भएको छ भने तीन सय घरमा पानी पसेको छ,’ प्रहरी निरिक्षक थापाले भने, ‘पानी पसेपछि ५५ घरमा क्षती पुगेको छ। बाँकी क्षतीको बिबरण आएको छैन् ।’ धनगढी उप–महानगरपालिका र नगर विकास समितिकै संलग्नतामा खोलानाला अतिक्रमणको चपेटामा परेपछि धनगढीमा डुबानको समस्या बढ्दै गएको छ ।

5

धनगढीमा सडको पानी निकासका लागि बनाईएका नाली समेत काम नलाग्ने भएका छन् । ती नालीले सडकको पानी समेत थेग्न सकेका छैनन् भने पानी निकास हुने नाला र कुलोमा धनगढी उप–महानगरपालिका लगायतका सरकारी निकायले नै सडक बनाएका छन् ।