कञ्चनपुरमा लागु औषध खैरो हिरोईन सहित ६ जना पक्राउ
2020/08/12, 10:14
 
lagu

कञ्चनपुर प्रहरीले लागु औषध सहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले छुट्टाछुट्टै स्थानबाट मंगलबार लागु औषध खैरोहिरोईन सहित ६ जनालाई पक्राउ गरिएको जनाएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जिल्लाको बेल्डाँडी गाउँपालिकाबाट एक र बेलौरी नगरपालिकाबाट पाँच गरी ६ जनालाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार बेल्डाँडी गाउँपालिका वडा नम्बर २ को क्याम्पबाट तीन ग्राम ९५ मिलिग्राम खैरोहिरोईन सहित वेदकोट नगरपालिका ३ का २० वर्षीय राकेश चौधरीलाई पक्राउ गरिएको हो। यस्तै बेलौरी नगरपालिका वडा नम्बर १० को सडकघाटबाट थप पाँच जनालाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले बताए। पक्राउ पर्नेमा म ३ प ७८३ नम्बरको मोटरसाईकल चालक सडकघाटकै २१ वर्षीय रमेश चौधरी, पछाडी सवार २३ वर्षीय रवि चौधरी रहेका छन्।

शंका लागेपछि चेकजाँचका क्रममा दुवैजनाको साथबाट दुई ग्राम दुई सय ९० मिलिग्राम खैरोहिरोईन बरामद गरिएको छ। उनीहरुसँगै लागु औषधको ओसारपसारमा संलग्न थप तीनजनालाई पनि पक्राउ गरिएको छ।  यसरी पक्राउ पर्नेमा कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ का आकाश भण्डारी, वडा नम्बर ४ का शंकर चौधरी र सोही ठाउँका रोशन सार्की रहेको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले बताए।  उनीहरु विरुद्ध लागु औषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।