गत साउन ११ गते बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीलाई स्थानीय युवाले कुटपिट गरी घाइते बनाएका थिए। राति डिउटी गरिरहेका बेला स्वास्थ्य केन्द्रमा कार्यरत अहेब सिंहराज गिरीमाथि युवाहरुले चेकजाँचको बहानामा कुटपिट गरेको घटना सार्वजनिक भएको थियो।
तत्पश्चता ती युवाहरुलाई कारवाही र सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक र प्रसुति बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका थिए।
तर उक्त घटनामा अहिले नयाँ ‘टुइस्ट’ आएको छ। उक्त दिन ती स्वास्थ्यकर्मी समेत मदिराको नशामा लठ्ठ भएका कारण घटना घटेको बताइएको छ। अहेब सिंहराज गिरीले डिउटीमा मदिरा सेवन गरेर सेवामा गएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। आफुमाथि आक्रमण गरेको भन्दै उजुरी दिएका गिरीले नै मदिरा सेवन गरेर बिरामीको उपचार गरेको स्वास्थ्य परीक्षणबाट पुष्टि भएको छ।
प्रशासन कार्यालय बाजुराले उक्त्त घटनाको छानबिनपछि गिरीलाई कारवाही गर्न बुढीनन्दा नगरपालिकालाई निर्देशन दिएको छ। गिरीलाई नेपाल स्वास्थ्य सेवा ऐन २०५३ तथा नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ अनुसार कारवाही गरिएको जानकारी जिल्ला प्रशासन कार्यालय पठाउन नगरपालिकालाई पत्रचार गरिएको छ।
उक्त दिन राती साढे ११ बजे बुढीनन्दा नगरपालिका –६ का केसर भाट सहितको समुहले सिंहराज गिरीमाथि आक्रमण गरेका थिए। तर उक्त झडप दुवै पक्षले मदिरा पान गरेका कारण भएको बुझिएको छ। अहिले गिरीमाथि आक्रमण गर्ने ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ।