धनगढी प्रयोगशालामा चार जनामा कोरोना पुष्टि
2020/08/14, 1:58
 
Korona

सुदूरपश्चिममा थप चार जनामा कोरोना पुष्टि भएको छ। धनगढी स्थित सेती प्रादेशिक अस्पताल प्रयोशगालामा गरिएको परीक्षणमा आज थप चार जनामा कोरोना पुष्टि भएको हो।  सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा आठ सय ८९ जनाको कोरोना परीक्षण गरिएकोमा एक महिला र  तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको बताए। उनीहरु सबैजना अछामका हुन्।

सूचना अधिकारी श्रेष्ठले अछामको साफेबगर नगरपालिका वडा नम्बर ७ की २३ वर्षीय महिला र ३१ वर्षीय पुरुष गरी दुईजना, साफेबगर नगरपालिका ५ का ३० वर्षीय पुरुष र मंगलसेन नगरपालिका ७ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय ७३ पुगेको छ। सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ८५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २२ र कञ्चनपुरमा ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डडेल्धुराका तीन सय १२, बैतडीका तीन सय एक, बझाङका दुई सय ९६ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार ८३ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ।